शुक्रबार, वैशाख १४, २०८१

सुपरस्टार कलाकार तथा ‘गन कल्चर’का अगुवा सिद्धुको किन गरियो हत्या ?

हत्याको मुख्य कारण ‘आपसी शत्रुता’

नेपालखोज २०७९ जेठ १६ गते १४:२७

पन्जाब । भारतको पन्जाब घर भएका सिद्धु मुसेवाला सुपरस्टार गायक, अभिनेता एवं राजनीतिज्ञ हुन् । कांग्रेस पार्टीमार्फत पन्जाबको राजनीतिमा खुट्टा जमाउने प्रयास गरेका सिद्धु लोकप्रिय गायक हुन् । उनका गीत युट्युबमा लाखौंले हेरेका छन् । उनका गीत मानिसको जिब्रोमा झुन्डिएका छन् ।

तर दुखद समाचार, उनको पन्जाबको मानसा भन्ने ठाउँमा गोली हानेर हत्या गरिएको छ । पन्जाबका एसएसपी गौरव तोराले सिद्धुको मृत्यु भएको पुष्टि गरेका छन् । सिद्धुलाई शरीरको पाँच ठाउँमा गोली हानेर विभत्स हत्या गरिएको छ । अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको मानसाका सिभिल सर्जन डा. रञ्जित राइको भनाइ उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सिद्धु सन् २०२१ को डिसेम्बरमा मात्रै राजनीतिमा प्रवेश गरेका थिए । सन् २०२२ को पञ्जाब विधानसभा चुनावअघि उनी राजनीतिमा प्रवेश गरेका हुन् । पन्जाबको मानसा निर्वाचन क्षेत्रबाट कांग्रेसका उम्मेद्वारका रूपमा चुनाव लडेका उनी आमआदमी पार्टीका विजय सिंगलासँग पराजित भएका थिए ।

सिद्धु मुसेवालाका धेरै गीत लोकप्रिय छन् । हाई, ढक्का, ओल्ड स्कुल, सञ्जुजस्ता गीत युट्युबमा करोडले हेरेका छन् । गीतहरूमार्फत बन्दुक संस्कृतिलाई बढावा दिएको आरोपमा सिद्धुमाथि थियो । यसैवालाई आधारित बनाएर आलोचना र मुद्दा पनि चलाइएको थियो । गायकको रूपमा पहिचान स्थापित गरेपछि सिद्धु मुसेवालाले फिल्ममा पनि पाइला राखेका थिए । सिद्धुले ‘यस आई एम स्टुडेन्ट’, ‘तेरी मेरी जोडी’, ‘गुनाह’, ‘जट्टं दा मुन्डा गौन लगा’ जस्ता सिनेमामा अभिनय गरेका थिए ।

आफ्नो गीतबाट ‘गन संस्कृति’ लाई बढावा दिने पन्जाबी गायक तथा कांग्रेस नेता सिद्धु ‘शुभदीप सिंह सिद्धु’ को हत्याले पन्जाबमा हलचल मच्चिएको छ । उनीमाथि मानसाको जवाहर्के गाउँमा अज्ञात समूहले गोली प्रहार गरेको थियो । सिद्धुमाथि करिब ३० गोली चलाइएको बताइएको छ । पञ्जाबका डीजीपी बीके भावराले सिद्धुको हत्याको जिम्मेवारी लरेन्स बिश्नोई समूहले लिएको जनाएका छन् ।

लरेन्स बिश्नोई समूहका क्यानडामा बसेका ग्याङस्टर गोल्डी बरारले हत्याको जिम्मेवारी लिएका छन् । एसएडी नेता विक्की मिद्दुखेडा हत्या प्रकरणमा मूसेवालाका म्यानेजर शगनप्रीतको नाम आएको थियो । यो घटना उनको प्रतिक्रिया हो भन्ने अनुमान गरिएको छ ।

सिद्धु घरबाट निस्कँदा बाटोमा अगाडि र पछाडिबाट दुईवटा गाडी आएर उनको गाडीमा गोली प्रहार गरिएको थियो । संयोगबस हत्या गरिएको बेला उनले बुलेटप्रुप गाडी चलाएका थिएनन् । आपसी शत्रुताको कारण सिद्धुको हत्या गरिएको खुलेको छ ।
-भारतीय विभिन्न सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया