‘दाबी भुक्तानीको प्रक्रिया छिटोछरितो बनाउनुपर्छ’
काठमाडौं । बिमा समितिको आयोजनामा आज ललितपुरमा जीवन बिमा कम्पनीहरूका दाबी विभागका प्रमुखहरूसँग बिमा दाबी भुक्तानीसम्बन्धी समस्या र समाधानसम्बन्धी अन्तर्क्रिया गरिएको छ ।
जीवन बिमा कम्पनीहरूबाट विनाझन्झट, छिटोभन्दा छिटो एवं सरल तरिकाले बिमा दाबी भुक्तानी हुन सकोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बिमा समितिका निर्देशक सुशीलदेव सुवेदीले बिमा कम्पनीहरूका दाबी विभागमा कार्यरत कर्मचारीहरूले आफ्नो काम गर्ने शैलीलाई परिस्कृत गरी दाबी भुक्तानीको प्रक्रियालाई छिटोछरितो रूपमा अगाडि बढाउनुपर्ने र भुक्तानीका लागि पहल पनि गर्नुपर्ने बताए ।
बिमा समितिका कानुन तथा नियमन महाशाखाका प्रमुख एवं निर्देशक दिनेशकुमार लालले समितिले बिमा दाबी भुक्तानीको अवस्थालाई समेत हेरेर बिमा कम्पनीहरूको मूल्यांकन गर्ने उल्लेख गर्दै मूल्यांकनमा न्यून अंक प्राप्त गर्ने कम्पनीहरूले समितिबाट पाउने सुविधाहरूमा समस्या पर्ने अवगत गराए । निर्देशक लालले समितिले बिमा दाबी भुक्तानीमा देखिएका समस्याहरूका सम्बन्धमा कम्पनीहरूसँग निरन्तररूपमा छलफल गरी दाबी भुक्तानीमा जोड दिए पनि सोचे जस्तो परिणाम दिन नसकेको बताए ।
कम्पनीले बिमा शुल्क लिएर बिमालेख बिक्री गरेपछि विनाझन्झट ढिलाइ नगरीकन दाबी भुक्तानी दिनैपर्नेमा जोड दिँदै निर्देशक लालले भने, ‘बिमाको विश्वसनीयता तब बढ्छ, जब बिमा दाबी भुक्तानी समयमै हुन्छ ।’
कार्यक्रममा बिमा समितिका उपनिर्देशक (कानुन) विरोध भट्टले जीवन बिमा कम्पनीहरूको दाबीसँग सम्बन्धित समस्या र समाधान विषयक कार्यपत्र प्रस्तुत गर्दै बिमितले बिमा दाबीसम्बन्धी लगायत जुनसुकै किसिमका उजुरीहरू इमेल, फोन वा पत्रमार्फत मौखिक वा लिखितरूपमा समितिमा गर्न सक्ने र त्यसलाई समितिले उजुरीका रूपमा स्वीकार गर्ने बताए । कार्यक्रममा बिमा समितिका निर्देशक पूजन ढुंगेल (अधिकारी), उपनिर्देशक कुन्दन सापकोटा र सहायक निर्देशक रन्जिता केसी तथा जीवन बिमा कम्पनी र पुनर्बीमा कम्पनीहरूका दावी विभागका प्रमुखहरूको सहभागिता थियो ।
प्रतिक्रिया