गंगा दशहरा पर्वअन्तर्गत गोसाइँकुण्ड मेला सुरु
रसुवा । गंगा-दशहरा पर्वअन्तर्गत रसुवा जिल्लामा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्ड स्नानका लागि भक्तजन निलाद्री पर्वत उक्लन थालेका छन् । पवित्र कुण्डमा स्नान र पूजा आराधना गर्नाले आफ्नो मनोकांक्षा पूरा हुने र शरीरका रोगव्याधसमेत हट्ने जनविश्वास छ ।
आजदेखि सुरु भएको गंगा-दशहराको विशेष मेला भर्न २०० भन्दा बढी भक्तजन गोसाइँकुण्डतर्फ प्रस्थान गरिसकेको प्रहरीले जनाएको छ । देवताका पनि देव महादेव भगवान् शंकर (शिवजी) गोसाइँकुण्डमा विराजमान रहेको विश्वास गरिन्छ ।
गंगा दशहरा पर्वअन्तर्गत १० दिनसम्म चल्ने मेलामा आउने यात्रुका लागि भोजन एवं बासस्थानको व्यवस्था मिलाउन धार्मिक मार्गका होटेल व्यवसायी तयार रहेको होटेल व्यवसायी संघ रसुवाका जिल्ला अध्यक्ष रामशरण गजुरेल निसानले बताए ।
गंगा दशहरा पर्व मान्नका लागि यस वर्ष तीन हजारभन्दा बढी भक्तजन गोसाइँकुण्ड पुग्ने अनुमान गरिएको छ । समुद्र सतहबाट चार हजार ३८० मिटरको उचाइमा अवस्थित गोसाइँकुण्ड तीर्थमा एकपटक भए पनि पुगेर स्नान गर्नुपर्ने मान्यता रहिआएको छ ।
प्रत्येक वर्ष दुईपटक विशेष मेला लाग्ने र तीमध्ये जनैपूर्णिमा पर्वमा ठूलो मेला लाग्ने समाजसेवी टंकप्रसाद आर्चायले बताए । अहिले सुरु भएको गंगा दशहरा पर्वमा नुवाकोट, काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, चितवानसमेतका भक्तजनको आगमन भइरहेको स्थानीय होटेल व्यवसायीले बताएका छन् । धार्मिक क्षेत्रको सुरक्षा व्यवस्था मिलाइसकिएको जनाउँदै जिल्ला प्रहरी प्रमुख कुलदीप चन्दले निर्धक्कसाथ धार्मिकयात्रा गर्न भक्तजनलाई अनुरोध गरे । -रासस
प्रतिक्रिया