शुक्रबार, जेठ ४, २०८१

नेपाल टेलिकमको एपमा थपिए सुविधा

नेपालखोज २०७९ जेठ १७ गते १६:१४

काठमाडौं । नेपाल टेलिकमले आफ्नो एपमा सेवाग्राहीका लागि उपयोगी हुने सुविधा प्रयोग गर्न सकिने गरी अपडेट गरेको छ । नेपाल टेलिकम एपमार्फत सेवाग्राहीले पहिलेदेखि नै विभिन्न सुविधा प्रयोग गर्दै आएकामा अब एफटीटीएच सेवाका लागि आवश्यक पोर्टल थप गरिएको छ भने ‘नमस्ते पे’ मार्फत रिचार्जसमेत गर्न सकिनेछ ।

त्यसैगरी आफ्नो जानकारी (केवाईसी) अपडेट गर्न, अफलाइन मोडमा पनि विभिन्न सुविधा उपयोग गर्न सकिने विशेषता छन् । यसमार्फत विभिन्न सेवामा रिचार्ज गर्न सकिनेछ ।

फाइबर टु द होम अर्थात् एफटीटीएच प्रयोगकर्ताहरुले एपमार्फत एफटीटीएचको सीपीई रि–स्टार्ट गर्न, वाईफाईको एसएसआईडी परिवर्तन गर्न, डाटाको खपत तथा बचतबारे जानकारी लिन र महसुल तिर्न सक्नेछन् । नमस्ते पे सेवा पहिलोपटक एपमा समावेश गरिएको छ ।

नेपाल टेलिकम एपमा वैयक्तिक जानकारीहरु अपडेट युजर केवाईसीमार्फत नवीकरण गर्न सकिनेछ । त्यसैगरी डिलरहरुले एमपोससमेत लगइन गर्न सकिनेछ । नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’ लाई समय समयमा परिमार्जन गरी सेवाग्राहीका लागि उपयोगी विशेषता थप गर्दै नयाँ रुपमा प्रस्तुत गर्ने गरेको छ । एपमार्फत नेपाल टेलिकमका जीएसएम, सीडीएमए, पीएसटीएन, एडीएसएल, एफटीटीएचलगायत सेवाबारे जानकारी प्राप्त गर्नुको साथै अन्य विभिन्न सुविधा उपभोग गर्न सकिन्छ । त्यसैगरी नेपाल टेलिकमले उपलब्ध गराएका विभिन्न प्याकेजहरु खरिद गर्न र प्याकेजको अवस्थाबारे सहज रूपमा जानकारी प्राप्त गर्न सकिन्छ ।

यसका साथै ब्यालेन्स हेर्न, ब्यालेन्स ट्रान्सफर गर्न, विभिन्न सेवामा रिचार्ज गर्न र आफन्त वा साथीलाई विभिन्न प्याकेजहरु उपहारको रुपमा पठाउन सकिन्छ । त्यसैगरी विभिन्न प्रकारका भ्यालु एडेड सर्भिसको प्रयोग गर्न, नेपाल टेलिकमका विभिन्न सेवाहरुमा समस्या आएमा गुनासा टिपाउन र विभिन्न सेवाहरुको बिल तिर्न पनि सकिन्छ । कम्पनीको फेसबुकलगायत सोसल मिडियासमेत यहीँबाट प्रयोग गर्न सकिन्छ । उक्त एपमार्फत कम्पनीले उपलब्ध गराउँदै आएका सम्पूर्ण सेवाहरुको महसुल दरबारे जानकारी लिन पनि सकिन्छ ।

टेलिकमका अनुसार यो एपबाट १००, १०१, १०२ जस्ता इमर्जेन्सी नम्बर डायल गरी आवश्यक सेवा लिनुका साथै १९७, १४९८ आदि नम्बरमा डायल गरी कम्पनीका विभिन्न सेवाबारे सोधपुछ गर्न पनि सकिन्छ ।

यो एपबाट उपलब्ध गराइएका सुविधा उपयोग गर्न सुरुमा गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरबाट ‘नेपाल टेलिकम’ एप डाउनलोड गर्नुपर्छ । नेपाल टेलिकमको मोबाइल नम्बरमार्फत रजिस्टर गरेपछि एप चलाउन सकिन्छ । पहिलोपटक एप डाउनलोड गर्दा ५ सय एमबी डाटासमेत निःशुल्क प्रयोग गर्न सकिने सुविधा कम्पनीले उपलब्ध गराइरहेको छ ।

यो एपमा लगइन गर्नासाथ मोबाइलमा भएको ब्यालेन्स रकम तथा नेपाल टेलिकमको प्याकेज खरिद गरेको भए सोबारे जानकारी प्राप्त गर्न सकिन्छ । पछिल्लो अवस्थामा विभिन्न प्रकारका प्याकेज खरिद गरी सेवा उपभोग गर्ने प्रचलन बढ्दै गएकाले विशेष गरी त्यस्ता प्याकेज खरिद कार्य यो एपबाट सहज भएको छ । हाल नेपाल टेलिकम एप प्रयोग गर्ने सेवाग्राहीको संख्या बढ्दै गइरहेको छ ।

प्रतिक्रिया