बिहीबार, वैशाख १३, २०८१

सुरक्षित बाल खेलौना !

नेपालखोज २०७९ जेठ २१ गते १०:५९

खेलौनाहरूले बालबालिकामा सिर्जनशीलता, रचनात्मकता, क्रियाशीलता, र समस्या समाधान गर्ने क्षमताहरूको विकासमा मद्दत पुग्दछ । यस्ता वस्तुहरू सामान्यत: १६ वर्षमुनिका बालबालिकालाई लक्षित गरी बनाइएका हुन्छन् ।

बालबालिकाको शारीरिक, सामाजिक, भावनात्मक र बौद्धिक विकासमा टेवा पुर्‍याउने र कुनै किसिमको हानि नोक्सानी नगर्ने खेलौनाहरू सुरक्षित खेलौना हुन् । बालबालिकाको उमेरअनुसारका, तोकिएको मापदण्ड पूरा गरी बनाइएका र गुणस्तर प्रमाणीकरण चिह्‍न भएका, धारिला वा तीखा किनाराहरू नभएका, आगो नबल्ने, नपड्किने गरी बनाइएका, बालबालिकाले सम्हाल्न सक्ने तौल भएका, आवाज निस्कने खेलौना भएमा चर्को आवाज नभएका, घाँटीमा अड्किने र निलिन सक्ने खालका वस्तुहरू प्रयोग नगरिएका र अत्यधिक चुम्बकीय वस्तुहरू प्रयोग नभएका खेलौनाहरू सुरक्षित हुन्छन् ।

तर कतिपय खेलौनामा आँखाले देख्न सकिने भौतिक पदार्थ, जस्तै- धुलो, माटो, फोहर वा आँखाले देख्न नसकिने किटाणुहरू टाँसिएका हुन सक्दछन् र तिनले स्वास्थ्यसम्बन्धी समस्या निम्त्याउँछन् ।

खेलौनाहरूलाई बढी आकर्षक, नरम बनाउने र आकार मिलाउने आदि प्रयोजनले खेलौनाहरूमा गह्रौं धातु तथा विषाक्त रसायनहरूको धेरै प्रयोग गरिएको पनि पाइएको छ । यसबाट खेलौनाहरू हानिकारक बन्न पुग्छन् । ठूलो आवाज आउने खेलौनाहरूले बालबालिकाको श्रवणशक्ति र ज्यादा चम्किलो वा बहुरंगी खेलौनाहरूले बालबालिकाको दृष्टिशक्तिलाई कमजोर बनाउन सक्छन् । बालबालिकाले निल्न सक्ने तथा घाँटीमा अड्किन सक्ने स–साना गुच्चाहरू, बटन, मोती जस्ता दानाहरू वा त्यस्तै गेडागुडी प्रयोग गरिएका खेलौनाहरू हानिकारक हुन सक्दछन् ।
-युनिसेफ नेपाल

प्रतिक्रिया