बिहीबार, वैशाख १३, २०८१

अछाममा उत्पन्न तनाव सामान्य बन्दै

नेपालखोज २०७९ जेठ २१ गते २१:५८

अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा आज एक युवक मृत भेटिएको घटनालाई लिएर गरिएको प्रदर्शनपछि उत्पन्न तनाव सामान्य बन्दै गएको छ । यही जेठ १७ गतेदेखि बेपत्ता रहेका भनिएका पञ्चदेवल विनायक नगरपालिका–४ का अन्दाजी १७ वर्षीय विनोद शाही नजिकैको भिरमा आज मृत भेटिएका थिए ।

निज शाहीको हत्या गरिएको भन्दै स्थानीयवासीले प्रदर्शन गर्दै प्रहरी कार्यालय र प्रहरीको गाडीमा तोडफोड गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको थियो । प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले प्रदर्शनकारी तोडफोडमा उत्रेपछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाई फायरसमेत गर्नुपरेको बताए ।

‘प्रदर्शनकारीले प्रहरीलाई घटनास्थलसम्म पुग्न नदिएर प्रहरी कार्यालय र गाडीमा तोडफोड गर्न थाले’, मरासिनीले भने, ‘बेलुका घटनास्थलमा पुगेर शव उठाउन दिइएपछि घटनाको अनुसन्धान थालिएको छ ।’ प्रदर्शनकारीले नगरपालिकाका प्रमुख र वडाध्यक्षले घटना घटाएको आरोप लगाएका छन् । गत वैशाख ३० गते भएको स्थानीय चुनावका दिन सो क्षेत्रमा नेपाली कांग्रेस र एमाले कार्यकर्ताबीच विवाद र झै–झगडा भएको थियो ।

यही जेठ १७ गते पनि सो क्षेत्रमा एमाले र कांग्रेस कार्यकर्ताबीच झगडा भएको थियो । मृतक एमाले निकटका युवा रहेको जनाइएको छ । ‘एकअर्कामा आरोपप्रत्यारोप गरी घटनालाई राजनीतिक रङ दिन खोजिएको छ’, प्रजिअ मरासिनीले भने, ‘चुनावका विषयलाई लिएर सो क्षेत्रमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झगडा भएको थियो, पारिवारिक झगडा पनि रहेको भन्नेछ ।’

प्रतिक्रिया