बुधबार, वैशाख १२, २०८१

हृदयाघातका कारण !

डा. हेमराज कोइराला २०७९ जेठ २३ गते ९:१३

अप्रत्यासित रुपमा अपर्झट हुने तत्काल आपतकालिन उपचार हुन नसके ज्यानै समेत जानसक्ने र बाँची हाले पनि जीवनभर परावलम्बी र पराश्रित हुनुपर्ने तर जोखिम र कारकहरुको उचित निदान गरि हटाउन सके उल्ट्याउन पनि सकिने यो रोगकै कारणले संसारभर १ करोड ७७ लाख मानिस प्रत्येक वर्ष मरिन्छन् ।

मर्नेहरुमा अब पश्चिमेली भन्दा पूर्वेलीहरुकै संख्या ज्यादा छ । जोखिम कारक तत्त्वहरुलाई चिनेर समयमै जीवनशैलि परिवर्तन गरी अमेरिका, क्यानडा, फ्रान्स र अस्ट्रेलियाका रोगीहरुले विगत २५ वर्षमा यो रोगको महामारिलाई ५० प्रतिशतले, फिनल्यान्ड र जापानीले ६० प्रतिशतले घटाएका छन् तर रोगका कारकतत्त्वहरुसँग अनभिज्ञ दक्षिण एसियाका सहरी जनसमुदायले भने यो रोगलाई ४०० प्रतिशतका दरले बढाएका छन् ।

हृदयघातका कारणाहरू दुई प्रकारका छन् । उल्ट्याउन नसकिने र उल्ट्याउन सकिने

उल्ट्याउन नसकिने कारणहरु :
१) उमेर :
३० वर्ष उमेर पार गरेपछि धमनीहरुमा साँघुर्याउने समस्या स्वस्थ्य व्यक्तिमा पनि सुरु हुन्छ र ४० वर्ष कटेपछि तपाईं-हामी सबैलाई जोखिममा जाक्दछ ।

२) पुरुष लैंगिकता : हृदयघातका ८० प्रतिशत घटना पुरुषहरुमा पाइएकाले वैज्ञानिकहरु पुरुष हुनुलाई पनि हृदयघातको जोखिम मोल्नु मान्दछन् । महिलाहरुलाई आस्ट्रोजान नामक हारमोनले र नारी ब्याक्तित्वले हृदयघातबाट बचाउने वैज्ञानिक दावी छ तर महिनावारी सुकेका पाठेघर तथा डिम्बाशयका अपरेसन गरेका गर्भनिरोधक चक्कि खाने र धेरैचोटि गर्भपात गराएका महिलाहरुलाई पुरुषबराबर नै हृदयघात हुने जोखिम रहन्छ ।

३) पारिवारिक इतिहास : हृदयघात अनुवंशिक रोग पनि हो । हृदयघातको इतिहास भएका र यस्ता व्यक्तित्वहरु दुव्ला पातला भएपनि उनिहरुको कलेजोले प्राकृतिक रुपमै धेरै कोलेस्टेरोल बनाउने भएकाले ह्दयरोग लाग्दछ ।

उल्ट्याउन सकिने कारणहरु :
१) उच्च रक्त संयुक्त कोलेस्टेरोल :
कोलेस्टेरोल रगतमा पाइने एक किसिमको चिल्लो पदार्थ हो । शरिरलाई चाहिने तत्त्व भएता पनि एसको रक्त मात्र सामान्य (२०० मि.ग्रा./डे.ली ) भन्दा ज्यादा भएमा धमनी सागु¥याउने आथेरोस्क्लेरोसिस् भन्ने रोग लाग्दछ । माछा, मासु, अन्डा, दूध, दही, क्रिम, मख्खन, चीज, बटर, नौनी, जस्ता, प्राणीजन्य चिल्लोमा मात्र कोलेस्टेरोल पाइन्छ, वनस्पति जन्य चिल्लोमा पाईदैन । यसरी प्राणीजन्य चिल्लोबाट प्राप्त कोलेस्टेरोललाई कलेजोबाट अन्य तन्तुमा पुर्याउनु पर्ने हुन्छ । कलेजोमा बनेको कोलेस्टेरोललाई रगत भएर ट्रान्सपोट गर्न केहि ट्रान्सपोर्टर प्रोटिनहरु चाहिन्छ । ती प्रोटिनहरुलाई काइलोमाइक्रोन, एलडिएल, भिएलडिएल र एचडिएल प्रोटिन भनिन्छ । प्रोटिन युक्त कोलेस्टेरोल वा फ्रि कोलेस्टेरोल रगतमा घुम्दा उपापचयी क्रियाबाट प्राप्त फ्री रेडिकलहरुसंग मिलेर नशालाई घात गर्न सक्ने पदार्थ बनि चिपचिप भई रक्त नलीका भिताहरुमा टासिन पुग्छ र टाँसिएको ठाउमा प्रदाहतमक क्रिया सुरु भई ऊक्त स्थानमा कोलेस्ट्रोल क्यालसियम र मृत कोषहरुले बनेको प्लाक नामक नशा साँघुर्याउने डल्लो बन्छ र हृदययरोग लाग्दछ ।

२) उच्चरक्त एलडीएल कोलेस्टेरोल :
यो कोलेस्ट्रोलले बोक्ने लिपोप्रोटीन हो । एसलाई खराब कोलेस्ट्रोल पनि भनिन्छ । खानामा कोलेस्ट्रोल र ट्राइग्लिसेराइडको मात्रा जति धेरै हुन्छ त्यतिनै एलडिएलको मात्रा बढ्छ । ज्यादा भएको एलडीएल चाडै अक्सिडाईज हुनगई प्लाक बनाउछ । प्लाक बनाउनुका अलाबा यसले रक्त नलीलाई रिल्याक्स गराऊने इन्डोथेलीयम डिराइभ रिल्याक्सिङ्ग फ्याक्टर को उत्पादन कम गराएर नशाहरुलाई टाइट राखि रहन्छ र नशा साँघुर्‍याउँछ ।

३) उच्च भि.एल.डी.एल. कोलेस्ट्रोल : यो लिपोप्रोटिनलाई पनि कलेजोले कोलेस्ट्रोल र तेल (ट्राइग्लिसिराइड) बोक्न बनाउँछ । ट्राइग्लिसिराइडलाई तन्तुहरुमा अनलोड गरेर आए पछि यो एलडीएल बन्छ । बनेको एलडीएल प्रतिक्रियात्मक भई मुटुरोग लगाउछ ।

४) उच्च रक्त ट्राइग्लिसिराइड : ट्राइग्लिसिराइडलाई बोलचालको भाषामा खानेतेल भनिन्छ पाचन पश्चात ट्राइग्लिसिराइड फ्याटीको एसिड र ग्लिसरालमा परिवर्तित हुन्छन् । यी फ्याटी एसिड अनस्याचुरेटेड, स्याचुरेटेड र ट्रान्स फ्याटी एसीडका रुपमा शरीरमा अवशोशीत हुन्छन् । हृदय स्वास्थ्यका लागी पोली अनस्याचुरेटेड फ्याटलाई अलि राम्रो भने पनि स्याचुरेटेड र ट्रान्स फ्याटी एसीड मुटुका लागी अत्यन्त हानिकारक मानिन्छन् । सबै वनस्पति घिउ (हाइड्रोजेनेटेड याट) र रिफाईन्ड घ्यू तेल, स्याचुरेटेड फ्याट हुन् । तेललाई धेरै तताउँदा, अन्य तत्त्वसँग मिसाउँदा, उमाल्दा वा ब्याक्टेरीयल फरमेन्टेसन पछि ट्रान्सप् फ्याटी एसीड बन्दछ । स्याचुरेटेड र ट्रान्स फ्याटी एसीडको सेवनले एलडीएल र भिएलडीएल बढ्ने र एचडीएल घट्ने भएकाले तेलको अति तथा अप्राकृतिक उपयोग पनि मुटुरोगको कारण बन्न पुग्दछ ।

५) निम्न रक्त एचडीएल कोलेस्ट्रोल : यसलाई राम्रो कोलेस्ट्रोल पनि भनिन्छ । यसले फ्रि कोलेस्ट्रोललाई रगत र अन्य तन्तुबाट पक्रेर कलेजोमा ल्याई विसर्जन गरी रगतको कोलेस्ट्रोल स्तर कम गर्न मदत गर्दछ र मुटुरोग लाग्नबाट बचाउँछ ।

६) उच्च टोटल कोलेस्ट्रोल र एचडीएल अनुपात : यो अनुपात मुटुरोगको महत्त्वपूर्ण सूचानांक हो । यो अनुपात ज्यादा भएमा मुटुरोगको उच्च जोखिम रहन्छ ।

७) उच्च रक्तचाप : रक्त नलीमा रगत बग्दा रगतले रक्त धमनीहरुमा दिएको अतिरिक्त दबाबलाई रक्तचाप भनिन्छ । लामो समयसम्म रगतले रक्त नलीको भित्तामा दबाब दिँदा धमनीहरुको भित्री पत्र (इन्डोथेलियम) क्षतिग्रस्त भई उक्त भागमा कोलेस्ट्रोल जम्ने र प्लाक बन्ने क्रिया द्रुत गतिमा हुन पुग्छ ।

८) मधुमेह : मधुमेह हुँदा बढेको ग्लुकोजले स-साना रक्तनलीहरुलाई क्षतिग्रस्त गर्ने र कोषहरुको कोलेस्ट्रोल ग्रहण गर्ने क्षमता कम गरी दिने हुँदा नसालाई क्षतिग्रस्त हुन र कोलेस्ट्रोल बढ्न मद्दत गर्दछ । यसो हुँदा रक्तनलीहरुमा चाँडै बोसो जमी हृदयरोग लाग्दछ ।

९) मोटोपन : भोजनबाट प्राप्त वा शरीरमा आफै बनेको चिल्लो पदार्थ ऊर्जामा परिवर्तित हुन नसकी तौल बढी बडीमास सूचांक, ३० केजी प्रतिवर्गमिटरभन्दा धेरै भएको अवस्थालाई मोटोपन भनिन्छ । मोटोपन भएकाहरुको बोसो तन्तुले र एडिपोकाइन्स भन्ने केमिकल उत्पादन गर्दछ जस्लाई मुटुरोगको कारक मानिन्छ । साथै मोटोपनले मुटुरोगका अन्य जोखिमहरुलाई पनि बढाउने हुँदा मोटो मान्छे मुटुरोगको सिकार हुन पुग्दछ ।

१०) निष्क्रिय जीवन : मुटुरोगले श्रम र व्यायाम नगरी निष्क्रिय जीवन जिउनेहरुलाई ज्यादा मन पराउदछ । निष्क्रिय जीवन जिउँदा मुटु तथा रक्तनलीलाई व्यायाम हुन सक्दैन । व्यायाम र श्रमबाट भाग्दा कोलेस्ट्रोलको रक्तस्तर, सुगरको रक्तस्तर र शारीरिक तौल घटाउन सकिँदैन । फलत: मुटुरोग चाँडै लाग्ने सम्भावना रहन्छ ।

११) धुम्रपान तथा सुर्ती सेवन : धूमपान नगर्नेलाई भन्दा गर्नेलाई मुटुरोग लाग्ने खतरा ४०० प्रतिशत ज्यादा रहन्छ । सुर्तीमा रहेका विषहरुले रगतको कोलेस्ट्रोललाई अक्सिडाइज गर्न मद्दत गर्दछ । धूमपानले पुर्याउने क्षति व्यक्तिले लिएको चुरोटको संख्यासँग सीधै निर्भर रहन्छ । जसलाई सिगरेट स्कोर भनिन्छ । जर्दा सुर्ती, पानमसला खैनी नश, गुल, बज्जर, हुक्का, कक्कडजस्ता सुर्तीजन्य पदार्थहरुको पनि हृदयरोग कारणहरु हुन् ।

१२.मानसिक तनाव : वैचारिक ओहापोहाले उत्पन्न भएको मानसिक तथा शारीरिक असहजतालाई तनाव भनिन्छ । तनावले रक्तचाप, रक्त सुगर, हृदयको गति, कोलेस्ट्रोल, बोसो लग्ने क्रियालाई बढाउँछ । यसरी सबै जोखिम बढ्दै जाँदा हृदयरोग लाग्छ ।

१३. खानामा चोकर र रेसा, भिटामिन र एन्टीअक्सिडेन्टहरुको कमी : रेसा र चोक्करयुक्त खानाले विषाक्त तत्त्वहरुलाई अवशोषण गरी नशामा बोसो जम्न दिँदैन । भिटामिन, खनिज, एन्टीअक्सिडेन्ट, र अन्य सूक्ष्म पोषक तत्त्वहरुले पनि हृदयरोगबाट बचाउँछ । भिटामिन ए, भिटामिन सी र भिटामिन ई नशाको भित्रीपत्रलाई स्वस्थ राख्न आवश्यक पर्दछ । मुटुलाई चाहिने अन्य पोषकहरुमा केही धातु र खनिज तत्त्वहरु पर्छन् । यसका अलावा एन्टिअक्सिडेन्टको पनि उत्तिकै महत्त्व छ । एन्टिअक्सिडेन्टले अक्सिडेन्टिभ प्रतिक्रिया हुन नदिएर नशालाई क्षति ग्रस्त हुनबाट बचाउँछ ।

१४. टाइप ‘ए’ व्यक्तित्व
मुटुरोगले टाइप ‘ए’ व्यक्तित्व भएकाहरुलाई धेरै मन पराउँछ । टाइप ‘ए’ व्यक्तित्व भएका व्यक्तिहरु अधैर्यवान्, सधै तनावमा रहने, इख राख्ने, बैरत्व लिने, आफ्नो हठ र अडानहरु छाड्न नसक्ने सधैं हतारमा रहने, समयको अक्षरश: पालना गर्ने, पूर्वाग्रही, आलोचक, अभद्र व्यवहार गर्ने, इर्श्यालु, अरुलाई दबाएर राख्ने, प्रतिस्पर्धी, अहंकारी र प्रतिक्रियावादी हुन्छन् । यस्ता व्यक्तित्वहरुले हृदय तथा रक्तनली कमजोर बनाउँछ ।

१५. मदिरापान : रक्सीमा भएको एल्डीहाइडले बोसो लाग्न मद्दत गर्छ जो मुटुमैत्री हैन । रक्सीले खाली क्यालोरी पनि दिन्छ । रक्सीले कलेजो आन्द्राभुँडी तथा मष्तिस्क तथा अन्य कोमल अंगहरुलाई पनि क्षति पुर्याउने हुँदा त्यसको भार पनि मुटुले व्यवहोर्नुपर्छ फलत: मुटु रुग्ण हुन्छ ।

डा. हेमराज कोइराला

डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

प्रतिक्रिया