समलिंगी यौन सम्बन्ध राख्ने पुरुषमा मंकिपक्स संक्रमण बढेको पुष्टि !

काठमाडौं । यसअघि मंकिपक्स भाइरस नपाइएका देशमा पछिल्लाे समय ७८० जनामा संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ। यो कुल सङ्ख्या एक साताअघिको भन्दा तीनगुनाले बढी हो । गत साता २५७ वटा संक्रमण पुष्टि भएको थियो । डब्ल्यूएचओका अनुसार गत तीन सातामा संक्रमित हुनेको सङ्ख्या सम्भवतः धेरै आक्नुपर्ने किसिमको छैन । विश्वव्यापी जोखिम स्तर ‘मध्यम’ खालको रहेको छ ।
मंकिपक्सको ससंक्रमण खासगरी सामान्य खालको हुने गर्छ। तर मध्य तथा पश्चिम अफ्रिकाबाहिर पहिलो पटक व्यापक रूपमा फैलिएको छ। अधिकांश नयाँ सङ्क्रमित व्यक्तिहरू युरोप तथा उत्तर अमेरिकामा फेला परेका हुन् । सानो सङ्ख्यामा सङ्क्रमित व्यक्तिहरू मेक्सिको, आर्जेन्टीना, मोरक्को र संयुक्त अरब एमिरेट्समा पनि फेला गरेका छन् । यूकेमा सबैभन्दा धेरै २०७ जना सङ्क्रमित फेला परेका छन् भने स्पेनमा १५६ जना र पोर्चुगलमा १३८ जना सङ्क्रमित पाइएका छन् ।
डब्ल्यूएचओको ताजा विवरणअनुसार केही नयाँ सङ्क्रमितहरू यसअघि पुष्टि भएका सङ्क्रमित व्यक्तिहरू सम्पर्कमा पुगेको थाहा नभएका देखिएका छन्। त्यसको अर्थ संक्रमणको चक्र ‘पहिचान नगरिएका सङ्क्रमितसँग जोडिएको’ हुन सक्ने उसको ठम्याइ छ। ‘अरू देशहरूले पनि सङ्क्रमित फेला पार्न सक्ने र भाइरस थप फैलन सक्ने सम्भावना उच्च देखिएको छ,’ डब्ल्यूएचओले भनेको छ। अहिले फैलिरहेको मंकिपक्स संत्मणका कारण कसैको मृत्यु भएको तथ्याङ्क छैन।
डब्ल्यूएचओका अनुसार अहिलेसम्म पुष्टि भएका सङ्क्रमितमध्ये अधिकांश समलिङ्गी यौन सम्बन्ध राख्ने पुरुषहरू रहेका छन्। मंकिपक्स संक्रमण यौनसम्पर्कका कारण सर्छ भन्ने पुष्टि भइसकेको छैन, तर नजिकको सम्पर्कबाटसंक्रमण फैलने बताइन्छ। बिफर रोग लाग्ने भाइरसकै प्रजातिको मंकिपक्स भाइरसबाट यो संक्रमण हुन्छ।
यद्यपि मंकिपक्स संक्रमण हुने सम्भावना कम हुन्छ र यसले गम्भीर बिरामी बनाउँदैन। यसको धेरैजसो सङ्क्रमण मध्य र पश्चिम अफ्रिकाको जङ्गलनजिकै बस्तीमा देखिएका थिए। यो भाइरसका दुई मुख्य भेरिअन्ट छन्: मध्य अफ्रिकी भेरिअन्ट र पश्चिम अफ्रिकी भेरिअन्ट। पश्चिम अफ्रिकी भाइरसको संक्रमण अर्को भाइरसको संक्रमणभन्दा कम जोखिमपूर्ण हुन्छ।
सङ्क्रमण भएपछि सङ्क्रमित व्यक्तिलाई ज्वरो आउने, टाउको दुख्ने, सुन्निने, ढाड दुख्ने र मांसपेशी दुख्ने लक्षण देखा पर्छन्। केही दिनपछि शरीर बिमिराहरू देखा पर्न सक्छन्। यो अनुहारबाट सुरु भएर शरीरका अन्य भागमा फैलिन्छ। हात र गोडाका पैतालामा बढी देखिन्छ। बिमिराहरू निकै चिलाउने वा दुख्ने हुन सक्छ र त्यो बिस्तारै फोका बनेर आफै झरेर जान्छ। तर बिमिरा आएका ठाउँमा दाग रहिरहन सक्छ।
मंकिपक्स सङ्क्रमितको नजिक रहँदा यो सर्न सक्छ। यो भाइरस शरीरमा घाउ वा श्वासनली वा आँखा वा मुख वा नाकबाट छिर्न सक्छ। अहिलेसम्म यसलाई यौन रोगका रूपमा हेरिएको छैन तर यौन क्रियाकलाप गर्दा हुने नजिकको सम्पर्कमा यो सर्न सक्छ। सङ्क्रमित जनावरहरू जस्तै बाँदर वा मुसाको सम्पर्कबाट पनि यो सर्न सक्छ वा सङ्क्रमितले प्रयोग गरेका लुगा वा सामानबाट पनि सर्न सक्छ।
धेरैजसो संक्रमण गम्भीर हुँदैन। यो बिफरजस्तै हुन्छ र सङ्क्रमणको केही सातापछि आफै निको हुन्छ। तर कहिलेकाहीँ यो गम्भीर हुन सक्छ र पश्चिम अफ्रिकामा यसका कारणले मानिसको मृत्यु भएको तथ्याङ्क छ। यूकेमा सङ्क्रमितमध्ये केही समलिङ्गी भएका कारण यो समलिङ्गीमा बढी हुने रोग हो कि भन्ने प्रश्न उठेका छन्। तर यो सङ्क्रमित जोकोही व्यक्तिको नजिक सम्पर्कमा हुने जोकोहीलाई पनि सर्न सक्छ। यूके र युरोपमा अहिलेका सङ्क्रमितहरू बढी समलिङ्गी भएका कारण उनीहरूलाई विशेष सतर्कता अपनाउन भनिएको छ।
थुनिएको बाँदरमा पहिलो पटक पहिचान गरिएको यो भाइरसको संक्रमण सन् १९७० यता १० अफ्रिकी देशहरूमा कहिलेकाहीँ देखिने गरेको छ। सन् २००३ मा यो अमेरिकामा पहिलो पटक देखिएको थियो। अफ्रिका बाहिर मङ्कीपक्स देखिएको नै यो पहिलो अवसर थियो।
त्यति बेला विदेशबाट ल्याइएका साना जनावरको सम्पर्कमा रहेका कुकुरबाट मानिसमा सरेको यो रोग ८१ जनामा देखिएको थियो र कसैको पनि मृत्यु भएको थिएन। सन् २०१७ मा नाइजीरियामा अहिलेसम्मकै सबैभन्दा ठूलो संक्रमण देखिएको थियो र त्यहाँ १७२ जनालाई सङ्क्रमण भएको आकलन गरिएको थियो। सङ्क्रमितमध्ये तीनचौथाइ २१ देखि ४० वर्षका पुरुष थिए ।
यूकेका स्वास्थ्य अधिकारीहरूले मंकिपक्स यूकेमै मात्रै पनि महामारी बन्ने सम्भावना निकै न्यून रहेको बताएका छन्।नटिङ्घम विश्वविद्यालयका प्राध्यापक जोनाथन बल भन्छन् , ‘सङ्क्रमितको सम्पर्कमा आएका ५० मध्ये एक जना मात्रै सङ्क्रमित हुनुले यो अति कम सङ्क्रामक रहेको देखाउँछ।यो महामारीको रूपमा फैलिन्छ भनेर सोच्नु गलत हुन्छ।’

प्रतिक्रिया