साताको पहिलो दिनमै १२ अंकले नेप्से घट्दा १ अर्ब २७ करोडको कारोबार

नेपालखोज २०७९ जेठ २३ गते १५:४८

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेप्से घटेको छ । कारोबार खुलेको पहिलो केही समय झिनो अंकले बढेको नेप्से अन्तिम समयसम्म आइपुग्दा १२ दशमलव ९२ अंकले घटेर दुई हजार ६५ दशमलव ७८ अंकमा झरेको छ ।

सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव १२ अंकले घटेर चार सय दशमलव ३६ अंकमा झरेको छ । दुई सय २८ कम्पनीको २५ हजार नौ सय आठपटकको कारोबारमा ४४ लाख नौ हजार ६ सय ९१ कित्ता सेयर खरिद–बिक्री भएको छ । जसमध्ये कुल कारोबार रकम एक अर्ब २७ करोड ३३ लाख ८५ हजार दुई सय ७७ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ समूहको कारोबार भएकामा सातवटा समूहको सूचक घटेर ६ वटा समूहको सूचक बढेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक १९ दशमलव चार अंंकले घटेर १४ सय २८ दशमलव ४६ अंकमा झरेको छ । जलविद्युत् समूहको सूचक पाँच दशमलव ४१ अंकले घटेर २४ सय २० दशमलव ३५ अंकमा झरेको छ ।

निर्जीवन बिमा समूहको सूचक पनि ४९ दशमलव ५४ अंकले घटेर आठ हजार चार सय ८५ दशमलव १३ अंकमा झरेकामा जीवन बिमा समूहको सूचक पनि एक सय ९८ दशमलव ३२ अंकले घटेर नौ हजार ६ सय ६३ दशमलव ६० अंकमा पुगेको छ ।
यीबाहेक ट्रेडिङ, होटेल तथा पर्यटन र लगानी समूहको सूचक पनि घटेका छन् । विकास बैंक समूहको सूचक भने ११ दशमलव ९३ अंकले बढेर तीन हजार ६ सय १८ दशमलव ७० अंकमा चढेकामा फाइनान्स, लघुवित्त, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहहरूको सूचक पनि बढेका छन् ।

नेप्सेमा आज उपकार लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर १९ सय ३२ रुपैयाँ ८० पैसामा प्रतिकित्ता सेयर कारोबार हुँदा हिमालयन बैंकको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले घटेर तीन सय ५८ रुपैयाँ ९० पैसामा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज एसियन लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता पाँच सय ३९ रुपैयाँ अन्तिम मूल्यमा आठ करोड २४ लाख ७७ हजार तीन सय ८७ रुपैयाँ ७० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया