बिहीबार, वैशाख १३, २०८१

शिल्पीमा किंग्स कलेजका विद्यार्थीको नाटक

नेपालखोज २०७९ जेठ २६ गते १७:१२

काठमाडौं । काठमाडौंस्थित किंग्स कलेजले ‘त्रयम्’ शीर्षकको नाटक मञ्चन आज (बिहीबार) सम्पन्न गरेको छ । विद्यार्थीमार्फत सामाजिक सन्देश प्रवाह गर्ने उद्देश्यले कलेजले शिल्पी थियटरमा ‘त्रयम’ नामको नाटक मञ्चन प्रदर्शन गरेको हो ।

नाटक विद्यार्थी, शिक्षक, अभिभावक, सामाजिक तथा लैंगिक विषयमा रुचि राख्ने सबैका लागि सान्दर्भिक रहेको कलेजले दाबी गरेको छ । जेठ २० देखि प्रदर्शनीमा आएको नाटक आज सम्पन्न भएको हो ।

कलेजका विद्यार्थीले अभिनय गरेको यस नाटकले आलंकारिक रूपमा भूत, वर्तमान र भविष्यका साथै बिहानी, दिवा र साँझ गरी तीन–तीनवटै चरणलाई प्रतिनिधित्व हुने गरी महिलाको आवाजलाई उजागर गरेको छ । हाल नेपालमा देखिएको महिलाका समस्यामा परिवर्तन ल्याउन नाटकले जोड दिएको छ ।

व्यावसायिक नाट्य कलाकार एवं निर्देशक दिलीप रानाभाटले निर्देशन गरेको यस नाटकमार्फत व्यापार एवं उद्यमशीलताको क्षेत्रमा सिर्जनशीलता, साहित्य तथा नवीनताका अवयवहरुलाई कसरी मिश्रण गर्न सकिन्छ भनेर प्रयोगात्मक ढंगबाट परीक्षण गर्ने अवधारणालाई अगाडि सारिएको नाटक संयोजक दीक्षित भट्टले जानकारी दिएका छन् ।

कलेजले यसै वर्षदेखि सञ्चालनमा ल्याएको बीबीए इन अप्लाइड आर्ट एन्ड डिजाइन कार्यक्रमको प्रयोगात्मक हिस्साका रुपमा यो नाटकको प्रदर्शनीलाई लिन सकिने जनाएको छ । कलेजका प्राचार्य नरोत्तम अर्यालले विद्यार्थीको व्यावसायिक जीवन सफल बनाउन सघाउ पुर्याउने उद्देश्यले बीबीए इन अप्लाइड आर्ट एन्ड डिजाइन कार्यक्रम सञ्चालनमा ल्याइएको जनाएका छन् ।

‘हामीले सुरुमा यसै नाटकलाई मोड्युलको रुपमा बीबीए इन अप्लाईड आर्ट एन्ड डिजाइनका विद्यार्थीलाई अध्ययन गरायौं । त्यसपछि सोही नाटकको मञ्चन गराइ विद्यार्थीमा कलाप्रति अभिरुचि जगाउने प्रयास गरेका छौं,’ प्राचार्य अर्यालले जानकारी दिए । किंग्स कलेज उद्यमशीलता तथा व्यापार शिक्षामा अग्रणी शैक्षिक संस्थाहरुमध्येको एक मानिन्छ ।

प्रतिक्रिया