आइतबार, जेठ ६, २०८१

पाँच दिने भ्रमणका लागि खेलकुद मन्त्री गहतराज रुस प्रस्थान

नेपालखोज २०७९ जेठ ३० गते १९:३०

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) पाँच दिने भ्रमणका लागि रुस प्रस्थान गरेका छन् । रसिया सरकारका खेलकुद मन्त्री ओलेग भी म्याटिसिनको औपचारीक निमन्त्रणामा मन्त्रालयका सचिव दामोदर रेग्मीसहितको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री गहतराज सोमबार बिहान रुस प्रस्थान गरेका हुन् ।

पाँच दिने भ्रमणका क्रममा मन्त्री गहतराजले रुस सरकारका खेलकुद मन्त्री म्याटिसिनसँग औपचारिक भेट गर्ने कार्यक्रम तय भएको छ । त्यसक्रममा ‘रसिया–नेपाल खेलकुद सहयोग कार्ययोजना २०२२–२०२३’ मा दुबै देशका खेलकुद मन्त्रीले हस्ताक्षर गर्ने कार्यक्रम समेत छ ।

साथै नेपालको समग्र खेलकुद क्षेत्रको विकास तथा पारस्परिक सहयोगका विषयमा समेत कुटनैतिक भेटघाट तथा छलफल हुनेछ । भ्रमणका क्रममा रुसले खेलकुद क्षेत्रको विकासकालागि अवलम्वन गरेको निति तथा खेलकुद विश्वविद्यालय संचालनको प्रक्रियाका बारेमा समेत जानकारी लिनुका साथै अन्तर्राष्ट्रिय रंगशालाको अनुगमन गर्ने कार्यक्रम रहेको छ ।

नेपाल र रुस बीचको झण्डै ६६ वर्ष लामो कुटनीतिक सम्वन्धमा यस भ्रमणले खेलकुद डिप्लोमेसी मार्फत थप सुदृढ र सुमधुर सम्बन्ध स्थापित हुने विश्वास लिईएको छ ।

प्रतिक्रिया