मंगलबार, चैत ६, २०८०

‘कमेडी हब, हाँसोमै छ सब…!’

नेपालखोज २०७९ असार ३ गते १३:२१

काठमाडौं । पछिल्लो समय लोकप्रिय हुँदै गएको हास्यव्यङ्ग्य कार्यक्रम हो ‘कमेडी हब’ । टेलिभिजनमा एपीवान एचडी र युट्युबमा मिडिया हब च्यानलमा यो कार्यक्रम हेर्न सकिन्छ ।

अहिलेसम्म यस कार्यक्रमको तेस्रो शृंखला प्रसारण भइसकेको छ । डिसहोम फाइबरनेटले मिडिया हबको प्रस्तुतिमा हास्य रियालिटी कार्यक्रम ‘कमेडी हब’ को सह–प्रायोजन गरिरहेको छ ।

‘कमेडी हब, हाँसोमै छ सब…’ भन्ने स्लोगनसाथ प्रस्तुत यो कार्यक्रम एपीवान टेलिभिजनमा हरेक बुधबार साँझ ८ बजेदेखि प्रसारण हुने गर्छ । कार्यक्रमलाई माग्नेबुढा (केदार घिमिरे) ले निर्देशन गरेका छन् । यसमा माग्ने बुढा, सुबोध गौतम, लट्टे, राजा राजेन्द्र, हिमेश पन्त, दीपेन्द्र प्रसाई, जानुका केसी, नारिया गिरीलगायत हास्यविधामा स्थान बनाउन सफल कलाकारहरूले प्रस्तुति दिइरहेका छन् ।

अहिलेसम्म प्रसारण भएको ‘कमेडी हव’ हास्य शृंखलाले समाजमा भएका विकृति विसंगतिविरुद्ध लड्न प्रेरणा दिएको छ । यस्तै राजनीतिक दलका नेताका गलत क्रियाकलाप, महिला हिंसा, निजी विद्यालयमा विभिन्न बहानमा असुलिने शुल्क, महिला तथा किशोरीले भोग्नुपर्ने समस्या, भ्रष्टाचार, सरकारमा बसेकाहरूको गैरजिम्मेवारीपन लगायतको चिरफार गर्ने गरिएको छ ।

तेस्रो शृंखलासम्म आइपुग्दा ‘कमेडी हब’ मा प्रसारण भएको मुख्य विषय निजी विद्यालयमा लिइने अनियन्त्रित शुल्क हो । वास्तवमा विद्यालयले अभिभावकमाथि विभिन्न सुविधाको बहानामा अत्यधिक शुल्क लिने गरेका छन् । भर्ना शुल्क, परीक्षा शुल्क, खाजा खर्च, बस खर्च, जुत्ता, टाई, पोसाक, बसलगायत सुविधा दिइएको बहानामा निजी विद्यालयले शुल्क लिने गरेको कुरा यथार्थ हो । ‘कमेडी हब’ मा पनि यस्तै विभिन्न बहानामा शुल्क लिने गरिएको दृष्टान्त प्रस्तुत गर्न खोजिएको छ ।

बढी शुल्क लिनेलाई अभिभावकले कारबाही गर्न नसके यमराजले कारबाही गरेरै छाड्छन् भनेर सन्देश पनि दिन खोजिएको छ । यस्तै घरमा श्रीमती हुँदा–हुँदै परस्त्रीसँग मोजमस्ती गर्नेहरूलाई पनि ‘कमेडी हब’ मा झटारो प्रस्तुत गरिएको छ ।

वास्तवमा देश तथा समाज परिवर्तनका संवाहक भनेका राजनीतिक दलका नेताहरू हुन् । चुनाव आउँदा शिर झुकाउने र जितेपछि मोजमस्तीमा हिँड्ने नेतालाई व्यङ्ग्य गरिएको छ ।

चलेको चलन हराउँदै गएर विदेशी संस्कृति हावी हुँदै गएको अवस्था छ । यस्ता विकृतिपूर्ण अवस्था हुनु हुँदैन भन्ने सन्देश ‘कमेडी हब’ ले दिन खोजको छ । विभिन्न समुदाय तथा जातिको संस्कृतिको संरक्षणमा पनि जोड दिने प्रस्तुति हुने गरेका छन् । नेपाल अझै पनि छुवाछुत जस्तो कुरितिले जकडिएको देश हो ।

‘छुवाछुत अपराध हो, सबै जात समान हो’लगायतका सन्देश यस कमेडी सोमार्फत दिन खोजिएको छ । वास्तवमा नेपाली समाजका विविधतालाई समेटेर प्रस्तुति भइरहेको कार्यक्रमले एकातिर दर्शकलाई चेतना दिएको छ भने अर्कातिर भरपूर मनोरञ्जनसमेत प्रदान गरेको छ ।

हेर्नुहोस् कमेडी हबको तेस्रो शृंखला ।

प्रतिक्रिया