शुक्रबार, वैशाख ७, २०८१

धनीहरु पनि देश छाड्दै !

नेपालखोज २०७९ असार ३ गते १९:१७

काठमाडौं । संसारमा गरिबी, अभाव तथा बेरोजगारीका कारण मात्र पनि मानिसहरु आफ्नो देश छाड्दैनन् । धनीहरु पनि देश छाड्ने मामिलामा कम हुँदैनन् । हेनली ग्लोबल सिटिजन्सको एक ताजा रिपोर्टले सन २०२२ मा आफ्नो देश छोडेर विदेशमा बसोबास गर्न तयार धनीहरुको एउटा आकलन नै प्रस्तुत गरेको छ ।

धनीमानीलाई विदेश बसोबासको भिसा दिलाउन मदत गर्ने कम्पनी हेनली एन्ड पार्टनर्सका अनुसार विदेशमा बसोबास गर्ने तयारी गरिरहेका सबैभन्दा बढी धनी रूस, चीन, हङकङ, भारत, युक्रेन, ब्राजिल, ब्रिटेन, मेक्सिको, साउदी अरब तथा इन्डोनेसियाका छन् । रिपोर्ट भन्छ- यो वर्ष मात्र आठ हजारभन्दा बढी धनीले भारत छोडेर विदेश बसोबास गर्न थाल्नेछन् ।

कहाँ जान्छन् त ?
रिपोर्टअनुसार यसरी देश छोड्न चाहने धनीहरुको रोजाइमा परेका देश यूएई, अस्ट्रेलिया, सिंगापुर, इजरायल, स्विट्जरल्यान्ड, अमेरिका, पोर्चुगल, ग्रिस, क्यानाडा, न्युजिल्यान्ड आदि हुन् ।

रिपोर्ट भन्छ तीनवटा देश यस्ता पनि छन जसमा धनीमानीको विशेष रुचि देखिन्छ । ती देश हुन्- माल्टा, मौरिसस तथा मोनाको ।
रिपोर्टमा उल्लेख भएअनुसार धनीहरुको पारम्परिक ठेगाना वा आकर्षक रहँदै आएका ब्रिटेन र अमेरिका अब सर्वाधिक रुचिमा रहेनन् । अचम्म त के छ भने ब्रिटेन र अमेरिका का धनीहरु पनि त्यहाँ बाट पलायन भइरहेका छन् । २०२२ मा १,५०० बेलायती धनीले देश छाड्ने सम्भावना छ ।

चीनबाट सर्वाधिक पलायन
रिपोर्टअनुसार यो वर्ष चीनबाट लगभग दश हजार अति-धनी मानिस पलायन हुँदै छन् । यो सबैभन्दा बढी संख्या हो । चीनको बाँकी संसारसँग बिग्रँदै गएको सम्बन्ध तथा धन बढ्ने सम्भावना लगातार घटनु यसको मुख्य कारण भएको बताइन्छ ।
-हेनली ग्लोबल सिटिजन्सको रिपोर्ट तथा अन्तर्राष्ट्रिय विभिन्न सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया