शुक्रबार, चैत १६, २०८०

‘मानिसहरु समाचार सुन्न-पढ्न छाड्दै छन्, विश्वसनीयता पनि घट्दै छ !’

नेपालखोज २०७९ असार ४ गते १०:३५

काठमाडौं । विश्वका अधिकांश मानिस कोरोना भाइरसको महामारी, युक्रेनमाथिको रुसी हमला तथा जीवनयापनको संकटजस्ता महत्त्वपूर्ण खबर सुन्न अनि पढ्न रुचाउन छाडेका छन् ।

रोयटर्स इन्स्टिट्युट फर द स्टडी अफ जर्नलिज्मको रिपोर्टअनुसार यो सर्वेक्षणमा सामेल अधिकांश मानिस नियमित रूपले समाचार पढ्ने, सुन्ने वा हेर्नेहरु नै थिए । तीमध्ये ३८ प्रतिशत मानिस के भन्छन् भने उनीहरु बेलाबेलामा कतिपय समाचारबाट आफूलाई अलग राख्छन् । २०१७ मा यस्ता मानिसको संख्या २९ प्रतिशत मात्र थियो । सर्वेक्षणमा सामेल ३५ वर्षभन्दा कम उमेरका मानिसहरुले बताएअनुसार समाचारले उनिहरुको मुड नै उदासीन बनाउने काम गरिरहेको छ ।

घट्दै छ विश्वास
अहिले संसारभर समाचारप्रतिको विश्वास पनि घटिरहेको छ । अमेरिकामा ४२ प्रतिशत मानिस धेरैजसो समाचारप्रति भरोसा गर्छन् तर लगभग आधाजसो देशमा यो विश्वसनीयता घटेको छ भने सातवटा देशमा समाचारप्रतिको विश्वसनीयता बढेको पनि छ ।

रोयटर्स इन्स्टिट्युट फर द स्टडी अफ जर्नलिज्मका निर्देशक रासमुस क्लाइस नेल्सनले रिपोर्ट मा लेखेका छन्, ‘ठूलो संख्यामा मानिसहरु मिडियामाथि अनुचित राजनीतिक प्रभाव हावी भएको मान्छन् भने केवल अल्पसंख्यकले मात्र अधिकांश मिडिया कम्पनीले आफ्नै व्यावसायिक हितका लागि समाजका प्रति दायित्व निर्वाह गरेको कुरा मान्छन् ।’

यो रिपोर्ट ४६ किसिमका बजारका ९३,४३२ मानिसको अनलाइन सर्वेक्षणमा आधारित छ । रिपोर्टअनुसार अहिले युवा पाठकहरु टिकटकजस्ता मञ्चबाट खबरसम्म पुगिरहेका छन् भने पुराना न्युज ब्रान्डसँग उनीहरुको सम्बन्ध टाढिँदै वा कमजोर हुँदै छ ।

१८ देखि २४ वर्ष उमेर समूहका ७८ प्रतिशत युवा न्युज एग्रिगेटर्स अर्थात् अलग-अलग संस्थाबाट सार्वजनिक गरिएका समाचारलाई एक ठाउँमा राखेर प्रकाशन गर्ने वेबसाइट, सर्च इन्जिन वा सोसल मिडियामार्फत समाचार पढ्छन । यो आयु वर्गका ४० प्रतिशत युवा टिकटक प्रयोग गर्छन् अनि तीमध्ये १५ प्रतिशतले के भनेका छन् भने उनीहरु टिकटकको प्रयोग खबर खोज्ने, त्यसमा चर्चा गर्ने तथा त्यसलाई सेयर गर्ने काममा गर्छन् ।
स्रोत : रोयटर्स

प्रतिक्रिया