शुक्रबार, वैशाख १४, २०८१

प्रकोपबाट क्षति भएका पशुपक्षीका लागि राहत

नेपालखोज २०७९ असार ८ गते १५:३१

कर्णाली । प्राकृतिक प्रकोपमा परी क्षति भएका पशुपक्षीका लागि जुम्लामा आठ लाख रुपैयाँ राहत वितरण गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंको अध्यक्षमा मङ्गलबार बसेको जिल्लास्तरीय राहत वितरण समितिको बैठकमा प्रदेश सरकारबाट प्राप्त राहत कार्यविधिअनुसार क्षति भएका पशुपक्षीका लागि आठ लाख रुपैयाँ उपलब्ध गर्ने निर्णय भएको हो ।

बैठकमा पशुसेवा तथा पशु अस्पताल कार्यालय जुम्लाका कार्यालय प्रमुख गोविन्दबहादुर महतले चालु आर्थिक वर्ष २०७८÷७९ मा गत साउनदेखि हालसम्म भएको क्षतिको विवरण प्रस्तुत गरेका थिए ।

उनले चालु आवको जेठ मसान्तसमम क्षति भई प्रहरीको मुचुल्काअनुसार पुष्टि भएका भेडा, पाठापाठी, बाख्रा खसी, गाईगोरु, कुखुरा, माछा पोखरीको क्षतिमा पाउने राहत जानकारी दिए । कार्यालय प्रमुख महतका अनुसार राहत मापदण्डअनुसार कार्यालयलाई आएको नौ लाख रुपैयाँमध्ये आठ लाख वितरण गर्नुपर्नेछ । एक लाख रुपैयाँ भने असार अन्तिमसम्ममा केही क्षति भएमा वितरण गरिने भएको छ ।

‘कार्यालय प्रमुख महतका अनुसार २०७८ कात्तिक २ गते प्राकृतिक प्रकोपले सबैभन्दा बढी तातोपानी गाउँपालिका–७ का किसानका भेडाको क्षति भएको थियो,’ उनले भने, ‘उक्त क्षति भने सङ्घीय सरकारले राहत दिने भएको छ । चालु आवको कात्तिक महिनामा ताम्ती क्षेत्रका नौजना किसानका १४३ भेडा अविरल वर्षा र बाढीले बगाएर नष्ट भएका थिए ।’

बैठकमा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले किसानलाई सानो भए पनि राहत उपलब्ध हुनु राम्रो भएको बताए । उनले बैठकमा भएको निर्णयअनुसार चाँडै खातामा हाल्न कार्यालयलाई सुझाए। गत आवमा भने पशु अस्पताल तथा पशुसेवा कार्यालयले १४ लाख रुपैयाँ राहत वितरण गरेको थियो । रासस

प्रतिक्रिया