शनिबार, वैशाख ८, २०८१

४१५ छात्रालाई साइकल बाँडियो

रासस २०७९ असार ९ गते ६:४५

चन्द्रौटा । कपिलवस्तुको विजयनगर गाउँपालिकाले ४१५ छात्रालाई साइकल वितरण गरेको छ । छात्रालाई विद्यालयमा नियमित आउन प्रोत्साहन गर्न निःशुल्क साइकल वितरण गरिएको हो ।

गाउँपालिकाले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमअन्तर्गत पालिकामा रहेका छवटा माध्यमिक विद्यालयका कक्षा ९ र ११ सम्म अध्ययन गर्दै आएका ४१५ छात्रालाई साइकल वितरण गरेको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले महिला सशक्त भएमात्र पालिकाको विकास सम्भव रहेको बताए ।

शिक्षा, स्वास्थ्यसहित प्रत्येक निकायमा पछि परेका महिलालाई अगाडि बढाउन पालिका प्रतिबद्ध रहेको उनको भनाइ छ । छोरीलाई शिक्षित र सबल बनाउन नै ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान ल्याइएको छ थापाले बताए । उनका अनुसार साइकल पाएपछि विद्यालयमा छात्रा नियमित आउनेसँगै महिलाको शिक्षामा पहुँच वृद्धि हुनेछ ।

छोरीहरूलाई शिक्षा र रोजगारीका साथै आत्मरक्षाका लागि समेत अग्रसर बनाउने लक्ष्यका साथ पालिका अघि बढेको उपाध्यक्ष लक्ष्मी थारुले बताइन् । उनले नियमित विद्यालय आउन छात्राहरूलाई आग्रह गरिन् ।

साइकलले दूरीमा रहेका विद्यार्थीलाई विद्यालय आउने सहज हुने गाउँपालिका प्रशासकीय अधिकृत गोविन्द भट्टराईले विश्वास व्यक्त गरे । बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रमअन्तर्गत शिक्षा बिमा, महिलामैत्री शौचालयको निर्माणजस्ता कार्यक्रमलाई अघि बढाएर महिला सशक्तीकरणमा पालिकालाई अग्रपङ्क्तिमा राख्ने सोच लिएको उनले बताए । कक्षा ८ र १० पढेपछि विद्यालय छोड्ने गरेकाले उनीहरूलाई रोक्न साइकल वितरण गरिएको बताइएको छ । यसअघि पनि ०७७/७८ मा विजयनगरका ९ र ११ का विद्यालयका २४० छात्रालाई साइकल वितरण गरिएको थियो ।

रासस

रासस नेपालको राष्ट्रिय समाचार एजेन्सी हो । नेपालखोज राससको आधिकारिक ग्राहक पनि हो ।

प्रतिक्रिया