बिहीबार, वैशाख ६, २०८१

समितिले गर्यो २२ बिमा कम्पनीलाई कारबाही (नामसहित)

नेपालखोज २०७९ असार ९ गते १७:०३

काठमाडौं । बिमा समितिले एकैपटक २२ वटा बिमा कम्पनीलाई कारबाही गरेको छ । तोकिएको समयमा लेखापरीक्षण प्रतिवेदन नबुझाएका आधारमा जीवन, निर्जीवन र पुनर्बिमासमेत गरी २२ कम्पनीलाई प्रतिकम्पनी १० हजारदेखि १० हजार पाँच सय रुपैयाँसम्म जरिवाना गरिएको बिमा समितिका कार्यकारी निर्देशक एवं प्रवक्ता राजुरमण पौडेलले जानकारी दिएका छन् ।

‘बिमा ऐन, २०४९ र बिमा नियमावली, २०४९ बमोजिम बिमा कम्पनीहरूले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले १० महिनाभित्र आफूले गरेको बिमा व्यवसायको हिसाब किताबको लेखापरीक्षण प्रतिवेदन बिमा समितिमा बुझाउनुपर्ने कानुनी व्यवस्था रहेको छ । सोहीबमोजिम आर्थिक वर्ष ०७७/७८ को लेखापरीक्षण प्रतिवेदन नबुझाउने बिमा कम्पनीहरू प्रत्येकलाई १० हजार रुपैयाँका दरले र आर्थिक वर्ष ०७७/७८ को लेखापरीक्षण प्रतिवेदन नबुझाई दोस्रोपटक कानुनी व्यवस्थाको उल्लंघन गर्ने बिमा कम्पनीहरू प्रत्येकलाई पाँच सय रुपैयाँ थप गरी १० हजार पाँच सय रुपैयाँका दरले जरिवाना गर्ने निर्णय गरिएको हो,’ प्रवक्ता पौडेलले भने ।

‘बिमा ऐन, २०४९ को दफा २५ बमोजिम बिमा कम्पनीहरूले आफूले गरेका बिमा व्यवसायको हिसाब किताबको लेखापरीक्षण मान्यताप्राप्त लेखापरीक्षकबाट गराई सोको प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले १० महिनाभित्र समितिसमक्ष पेस गर्नुपर्ने अनिवार्य कानुनी व्यवस्थाको जानी–जानी उल्लंघन गरेको देखिएकाले बिमा ऐन, २०४९ को दफा ३६ को उपदफा (१) बमोजिम ती कम्पनीहरूलाई जरिवाना गरिएको हो,’ उनले भने । प्रवक्ता पौडेलका अनुसार आर्थिक वर्ष ०७७/७८ को लेखापरीक्षण प्रतिवेदन नबुझाउने बिमा कम्पनीहरूमा नेपाल पुनर्बिमा कम्पनी लि., लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड, एसियन लाइफ इन्स्योरेन्स कं.लि., सूर्या लाइफ इन्स्योरेन्स कं.लि., प्राइम लाइफ इन्स्योरेन्स कं.लि., ज्योति लाइफ इन्स्योरेन्स कं.लि., रिलायन्स लाइफ इन्स्योरेन्स कं.लि., सिटिजन लाइफ इन्स्योरेन्स कं.लि., प्रभु लाइफ इन्स्योरेन्स कं.लि. र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् । ‘सोही आधारमा ती कम्पनीहरू प्रत्येकलाई १० हजार रुपैयाँका दरले जरिवाना गर्ने निर्णय गरिएको हो,’ प्रवक्ता पौडेलले भने ।

यसैगरी, आर्थिक वर्ष ०७६/७७ को लेखापरीक्षण प्रतिवेदन नबुझाएका कारण त्यतिबेला जरिवाना गरिएका राष्ट्रिय बिमा संस्थान, नेसनल लाइफ इन्स्योरेन्स कं.लि., नेपाल लाइफ इन्स्योरेन्स कं.लि., गुराँस लाइफ इन्स्योरेन्स कं.लि., आईएमई लाइफ इन्स्योरेन्स कं.लि., युनियन लाइफ इन्स्योरेन्स कं.लि., सन नेपाल लाइफ इन्स्योरेन्स कं.लि., रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कं.लि., सानिमा लाइफ इन्स्योरेन्स कं.लि., दी ओरिएन्टल इन्स्योरेन्स कं.लि., नेसनल इन्स्योरेन्स कं.लि. र राष्ट्रिय बिमा कम्पनी लिमिटेडले आर्थिक वर्ष ०७७/७८ को लेखापरीक्षण प्रतिवेदन नबुझाई विद्यमान कानुनी व्यवस्थाको पुनः दोस्रोपटक उल्लङ्घन गरेकाले दोस्रोपटकका लागि पाँच सय थप गरी प्रत्येक कम्पनीलाई १० हजार पाँच सय रुपैयाँका दरले जरिवाना गर्ने निर्णय गरिएको जानकारी पनि प्रवक्ता पौडेलले दिएका छन् ।

प्रतिक्रिया