शुक्रबार, वैशाख १४, २०८१

सिद्धार्थ बैंकको ‘१०.७५ प्रतिशत एसबीएल डिबेन्चर २०८९’ ऋणपत्र

नेपालखोज २०७९ असार ९ गते १८:०४

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले २०७९ असार १० गते देखि४ अर्ब रुपैयाँको ४० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँका दरले ४० लाख कित्ता १०.७५ प्रतिशत एसबीएल डिबेन्चर २०८९ बिक्री खुला गरेको हो । जसमा लगानीकर्ताले वार्षिक १०.७५ प्रतिशत ब्याजदर पाउन सक्नुहुनेछ । यस ऋणपत्रको अवधि १० वर्ष रहनेछ ।

आकर्षक र सुनिश्चित प्रतिफल प्रदान गर्ने उत्कृष्ट दीर्घकालीन लगानीको अवसरका साथ सर्वसाधारण र विभिन्न संघ–संस्थाका लागि जारी गरिएको उक्त ऋणपत्रमा लगानीकर्ताले बंैकिङ उद्योगमध्येकै उच्चतम ब्याजदर प्राप्त गर्न सकिनेछ ।

बैंकले ४० लाख कित्ता ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात १६ लाख कित्ता सर्वसाधारण लगानीकर्तालाई र ६० प्रतिशत अर्थात २४ लाख कित्ता विभिन्न संघ–संस्थालाई बिक्री गर्नेछ । सर्वसाधारणका लागि निष्कासन गरिएको कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ८० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता देखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सक्नुहुनेछ । लगानीकर्ताहरूले यस ऋणपत्रका लागि नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

यसको निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ । यस ऋणपत्रलाई इक्रा नेपाल लिमिटेडले मध्यम मात्रामा सुरक्षा तथा प्रतिकूल प्रभावसहित सूक्ष्म निगरानी जनाउने रेटिङ प्रदान गरेको छ । ऋणपत्र निष्कासन बन्द हुने मिति छिटोमा २०७९ असार १४ गते र ढिलोमा असार २४ गते रहेको छ ।

प्रतिक्रिया