शुक्रबार, चैत १६, २०८०

‘मंकीपक्स विश्वव्यापी स्वास्थ्य प्रकोप’

नेपालखोज २०७९ असार ९ गते २३:१९

नयाँदिल्ली । विश्व स्वास्थ्य सञ्जाल (डब्ल्यूएचएन)ले मंकीपक्स विश्वव्यापी स्वास्थ्य प्रकोप अर्थात विश्वव्यापी स्वास्थ्य समस्या बनेको जनाउँदै त्यसलाई सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको छ ।

कोभिड–१९ को जोखिमविरुद्ध गठन भएको स्वास्थ्य वैज्ञानिकहरूको गठबन्धनले मङ्कीपक्सको प्रकोपलाई विश्वव्यापी चिन्ताको विषय भएको बताउँदै त्यसलाई सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको हो ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का प्रमुखले ३२ देशमा मंकीपक्सका जीवाणु फैलिएका कारण अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन आपत्कालीन समितिको बैठक भएको केहीदिनपछि डब्ल्यूएचएनले स्वास्थ्य आपत्काल घोषणा गरेको अधिकारीहरूले बताएका छन् ।

आज डब्ल्यूएचएनका पदाधिकारीको बैठक हुने र त्यसमा प्रकोपबाट जोगिन तथा उच्च सतर्कता अपनाउनेलगायत नियन्त्रणात्मक उपायबारे छलफल हुने बताइएको छ ।

रोगको प्रकोप कुनै एक देश वा क्षेत्रमा सीमिति नभएकाले त्यसविरुद्ध प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता परेको स्वास्थ्य क्षेत्रका जानकारहरूले बताएका छन् । हाल विश्वका ५८ देशमा मङ्कीपक्स फैलिएको र तीन हजार चारसय १७ जना बिरामी फेला परेका छन् ।

प्रतिक्रिया