बुधबार, वैशाख १२, २०८१

राष्ट्र बैंकले असर्फीको मूल्य निर्धारणसम्बन्धी व्यवस्थामा गर्‍यो संशोधन !

अबदेखि प्रतिग्राम तीन सय रुपैयाँका दरले रकम थप गरी दैनिक मूल्य निर्धारण गर्न सकिने

नेपालखोज २०७९ असार १० गते ११:५०

काठमाडौं । नेपाल राष्ट्र बैंकले असर्फीको मूल्य निर्धारणसम्बन्धी व्यवस्थामा संशोधन गरेको छ । राष्ट्र बैंकका अनुसार प्रतिग्राम असर्फीमा तीन सय रुपैयाँका दरले रकम थप गरी दैनिक मूल्य निर्धारण गर्न सकिने गरी संशोधित व्यवस्था कार्यान्यवनमा ल्याइएको हो ।

‘नेपाल राष्ट्र बैंक सुनचाँदी तथा अन्य धातु खरिद, टकमरी र बिक्रीसम्बन्धी कार्यविधि २०७५ लाई संशोधन गरी यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिइएको हो,’ राष्ट्र बैंकले परिपत्रमार्फत भनेको छ । परिपत्रअनुसार गणना गरिएको आधार मूल्यमा टकमरी गर्दाको जर्तीलगायतको लागतबापत प्रतिग्राम तीन सय रुपैयाँका दरले रकम थप गरी असर्फीको दैनिक मूल्य निर्धारण गर्न सकिने तर सर्वसाधारणबाहेक नेपाल सरकारका निकायहरु वा निजी तथा सार्वजनिक संघ संस्थाहरुबाट असर्फी खरिदका लागि माग भई आएमा असर्फीको मौज्दात, माग गर्ने संस्थाको आवश्यकता तथा औचित्यताका आधारमा बिक्री गर्न सकिनेछ ।

यसरी बिक्री गर्दा खण्ड (ख) बमोजिमको आधार मूल्यमा जर्तीलगायतको लागतबापत प्रतिग्राम ५ सय रुपैयाँ थप गरी बिक्री मूल्य निर्धारण गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

पुरानो व्यवस्थाअनुसार भने प्रतिग्राम दुई सय रुपैयाँका दरले थप गरी असर्फीको दैनिक मूल्य निर्धारण गर्न सकिने र निजी वा संस्थागतको हकमा प्रतिग्राम तीन सय रुपैयाँ थप गरी बिक्री मूल्य निर्धारण गर्न सकिने उल्लेख छ ।

प्रतिक्रिया