बिहीबार, वैशाख १३, २०८१

एसीसी महिला ‘टी-ट्वान्टी’ बाट नेपाल बाहिरियो

नेपालखोज २०७९ असार १० गते १२:५९

काठमाडौं । वर्षा बाधक बनेपछि नेपाल ‘एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिप’बाट बाहिरिएको छ । मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा आज भएको नेपाल र संयुक्त अरब इमिरेट्स (युएइ) बीच भएको पहिलो सेमिफाइनल खेल वर्षाका कारण रद्द भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।

प्रतियोगिताको नियमअनुसार युएइ भने समूह ए को विजेताका रुपमा फाइनलमा पुग्दै एसिया कपमा समेत छनोट भएको छ । यसअघि युएई समूहको विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । नेपाल उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको थियो ।

टस जितेर पहिले बलिङ गर्न निर्णय गरेको नेपालले युएईलाई ८१ रनमा अलआउट गरेको थियो । जीतका लागि ८२ रनको विजयी लक्ष्य पाएको नेपाल वर्षाका कारण जवाफी ब्याटिङ गर्न पाएन र नेपाल सेमिफाइनलबाटै बाहिरिन पुग्यो ।

खेलमा युएईले १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ८१ रनमा समेटिएको थियो । युएईका लागि वैष्णवी महेशले सर्वाधिक १६ रन बनाइन् । इशा रोहितले १५ तथा कप्तान छाया मुघलले १४ रन जोडिन् । त्यस्तै खुसी शर्मा १२ रनमा आउट भइन् ।

उत्कृष्ट बलिङ गरेको नेपालका लागि अश्मिना कर्माचार्य एक्लैले ५ विकेट लिइन् । इन्दु बर्माले ३ तथा सीता रानाले २ विकेट हात पारिन् । समूह ‘बी’ मा रहेको नेपालले समूह चरणको खेलमा भूटान, कुवेत र बहराइनलाई पराजित गरेको थियो भने हङ्कङसँग पराजित भएको थियो ।

प्रतिक्रिया