शनिबार, वैशाख २९, २०८१

हैजा, फुड प्वाइजनिङ र आउँबाट बच्न के गर्ने ? यस्ता छन् १२ उपाय !

डा. रवीन्द्र पाण्डे २०७९ असार ११ गते १३:३१

१. सबै प्रकारको पानी ( धारा, इनार, ट्यांकर, जार, मिनरल वाटर आदि ) फिल्टर गरेर तथा १० मिनेट भकभक उमालेर (Rolling boil) मात्र पिउनुहोला । कतै जाँदा घरको पानी बोतलमा बोकेर जानुहोला ।

२. सकभर बाहिर खाना तथा खाजा नखानुहोला । खानु परेमा किचेन, भाँडा, पकाउने व्यक्ति आदि सफा भएको ठाउँमा मात्र खानुहोला । सकभर पानीको प्रयोग नहुने खाजा खानुहोला ।

३. तरकारी राम्रोसँग पखालेर तथा पूर्ण पाकेको मात्र सेवन गर्नुहोला ।

४. मासु सफा ठाउँमा मात्र किनेर तथा राम्रोसंग पकाएर मात्र खानुहोला ।

५. फलफूल राम्रोसँग धोएर, ताछेर मात्र खानुहोला ।

६. धेरै बालबालिका पौडी खेलेपछि (स्विमिङ गरेपछि) बिरामी भएका छन् । हाम्रा पौडी खेल्ने ठाउँमा पर्याप्त पानी आउने/जाने व्यवस्था छैन । स्विमिङ पुलमा पिसाबको मात्रा अत्यधिक हुन्छ । शरीरको मयल, जुठो आदि हुने नै भयो । त्यस्तो पानीबाट हैजा, झाडाबान्ता, हेपाटाइटिस ए, टाइफाइड ज्वरो, छालाका रोग आदि सर्ने सम्भावना अत्यधिक हुन्छ तसर्थ यो बर्षा महिनामा पौडी नखेल्नुहोला ।

७. वर्षाको पानीले एकठाउँको फोहोर अर्को ठाउँमा पुर्याएको हुन्छ । हाम्रा जुत्ता तथा गाडीको टायरमा फोहोरको रस टाँसिएको हुनसक्छ । तसर्थ घरमा आएपछि जुत्ता, चप्पल, टायर राम्रोसँग पखालेर तथा जुत्ता/चप्पल बाहिर राखेर मात्र घरभित्र पस्नुहोला ।

८. दूधलाई राम्रोसँग उमालेर मात्र सेवन गर्नुहोला ।

९. यदि दिनमा ३ पटक वा सोभन्दा बढीपटक पखाला लाग्यो वा पातलो दिसा भयो भने जीवनजल, सादा पानी, सुप, दालको रस प्रशस्त मात्रामा सेवन गर्नुहोला । हैजादेखि अन्य झाडाबान्तामा शरीरमा पानीको मात्रा कम भयो भने जोखिम बढ्ने हो । तसर्थ प्रशस्त झोलिलो खाने, नजिकको स्वास्थ्य संस्थामा गएर औषधि खाने गर्नुहोला ।

१०. हैजा भिब्रियो कोलेरा नामक ब्याक्टेरियाबाट हुने भएकाले उक्त ब्याक्टेरिया एन्टिबायोटिकले मर्दछ । हैजामा मान्छेको मृत्यु ब्याक्टेरियाको कारणभन्दा जलवियोजन (Dehydration) को कारणले हुन्छ । तसर्थ औषधि तथा प्रशस्त पानी, जीवनजल सेवन गरेमा अस्पताल जानु पर्दैन ।

११. पानी तथा जीवनजल पर्याप्त मात्रामा खान नसकेमा, चौलानी पानीजस्तो पातलो पखाला लागेमा, मुख सुकेमा, छाला चिसो भएमा, पिसाब कम भएमा तथा बिरामी गलेमा तुरुन्तै नजिकको अस्पतालमा जानुहोला । यस्ता बिरामीलाई सलाइनबाट उपचार गर्नुपर्ने हुन्छ । जलवियोजनको कारण अन्य अंगमा (किड्नी आदि) असर परेमा आईसीयूमा राखेर उपचार गर्नुपर्ने हुन्छ ।

१२. समयमै उपचार गरेमा हैजा तथा अन्य झाडाबान्ताबाट मृत्यु हुने सम्भावना निकै कम हुन्छ । यी रोग फिको ओरल अर्थात् दिशाजन्य हात र मुखको सम्पर्कबाट हुने भएकोले हात पटकपटक धुने, स्यनिटाइज गर्ने, साबुनपानीले मिचिमिची हात धोएर मात्र खाना खाने, हातलाई मुखमा राख्ने बेला हात सफा हुनुपर्ने आदि बानीको विकास गर्नुपर्दछ । हैजा भए नभएको दिशाको कल्चर गरेर पत्ता लाग्दछ ।

प्रतिक्रिया