बिहीबार, वैशाख १३, २०८१

‘काठमाडौं सोधेर प्लेन चढ्न एयरपोर्ट जानुपर्ने अवस्थाको अन्त्य भएको छ’

नेपालखोज २०७९ असार १२ गते १२:३८

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमका नागरिकले काठमाडौंमा सोधेर जहाज कति बजे आउँछ भनेर प्लेन चढ्नका लागि एयरपोर्ट जानुपर्ने दिनको अन्त्य भएको बताएका छन् ।

कैलालीको धनगढीमा रहेको गेटा विमानस्थलमा निर्माण गरिने टर्मिनल भवन सुधार, ब्यागेज हेन्डलिङ सिस्टम, वाटर फाउन्टेन, क्यान्टिन र गेट निर्माण कार्यको शिलान्यास गर्दै मन्त्री आलेले सुदूरपश्चिमका यात्रुले प्लेन आउने/नआउने विषयमा काठमाडौंबाट जानकारी लिनुपर्ने अवस्थाको अन्त्य भएको बताए । उनले भने, ‘जहाज सञ्चालन कम्पनीले जहाँबाट बेस लिएको छ, त्यहीँबाट पहिलो उडान भर्नुपर्ने नियम लागु गराएको छु, अब धनगढीबाट पनि पहिलो उडान हुनेछ, जहाज आउने/नआउनेबारे काठमाडौंमा सोध्नुपर्ने छैन ।’

भोलि (असार १३ गते) बाट लागु हुने गरी आफ्नो बेस लिएका ठाउँबाट विमान सञ्चालक कम्पनीहरूले आफ्नो पहिलो उडान भर्नुपर्ने निर्णय लागु भएको जानकारी गराउँदै मन्त्री आलेले अब गेटा विमानस्थलबाट पनि पहिलो उडान हुने बताए । उनले भने, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज पार्किङका लागि समस्या थियो, जहाज टाँसिएर पार्किङ गरिने हुँदा ठोक्किएको खण्डमा ठूलो दुर्घटना हुन सक्ने भएकाले जहाज सञ्चालक कम्पनीले बेस लिएका ठाउँबाट पहिलो उडान भर्न र नाइट स्टपका लागि पनि त्यहीँ जान हामीले निर्णय गरेका छौँ, अब गेटा विमानस्थलमा पनि नाइट स्टपका लागि जहाज पार्किङ हुनेछन् ।’

कार्यक्रममा मन्त्री आलेले कैलालीको धनगढीस्थित गेटा विमानस्थलको स्तरोन्नतिसहित क्षेत्रीय अन्तर्राष्ट्रिय स्तरको बनाउन शुभारम्भ कार्य भएको जानकारी गराए । ती संरचना निर्माणका लागि आन्तरिक स्रोतबाट एक अर्ब बजेट विनियोजन भएकाले तोकिएको समयमै निर्माण सम्पन्न गर्नसमेत निर्माण व्यवसायीलाई आग्रह गरे ।

सुदूरपश्चिममा पर्यटन प्रवर्द्धन तथा यहाँको विकासका लागि भए पनि गेटा विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाउन जरुरी भएको समेत मन्त्री आलेले बताए । उनले भने, ‘सुदूरपश्चिमका पर्यटकीय क्षेत्रमा पर्यटक भित्र्याउन र प्रचारका लागि भए पनि यो विमानस्थल क्षेत्रीय अन्तर्राष्ट्रिय स्तरको बनाउन जरुरी छ, आज शिलान्यास भएको छ, चाँडै यसले पूर्णता पाउनेछ ।’ नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अध्यक्षसमेत रहेका मन्त्री आलेका अध्यक्षतामा बसेको बैठकले यसअघि गेटा विमानस्थल विस्तारका लागि एक अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा विकास गर्न जग्गा अधिग्रहणको काम अगाडि बढाउन उक्त बजेट विनियोजन गरिएको होे । गेटा विमानस्थल क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक २५८ बिघा अधिग्रहण तथा संरचना निर्माणको प्रक्रिया पनि सुरु भएको छ । मन्त्री आलेकै पहलमा यस वर्ष पनि उक्त विमानस्थलको जग्गा अधिग्रहण गर्न एक अर्ब पाँच लाख रुपैयाँ बजेट विनियोजन भएको गेटा विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणका प्रमुख रामकृष्ण भट्टले जानकारी दिए ।

प्रतिक्रिया