शुक्रबार, वैशाख ७, २०८१

‘मेरो आठ महिने कार्यकाल सफल भएकाे छ’

नेपालखोज २०७९ असार १३ गते १३:३४

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आन्तरिक रोजगारी सिर्जना, वैदेशिक रोजगारको व्यवस्थापन र सेवा प्रवाहलाई चुस्त बनाउन आफ्नो आठ महिने कार्यकाल सफल भएको दाबी गरेका छन् । मन्त्री पदबाट हटेपछि आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो नेतृत्वमा छोटो समयमा चालिएका कतिपय कदम उल्लेखनीय रहेको बताए ।

‘जति दिन म मन्त्रीको रुपमा रहें । निष्ठापूर्वक आफ्नो काममा प्रतिबद्ध र दृढ रहें । जनताले म प्रति देखाएको विश्वास अक्षुण्ण राख्न निरन्तर प्रयास गरिरहेँ । अब आउने नेतृत्वले मैले गरेका सुधारका प्रयासहरुलाई निरन्तरता दिने विश्वास लिएको छु‘, उनले भने, ‘मन्त्रालयमा मेरो २६२ दिन उपलब्धिपूर्ण र सफलतापूर्वक सम्पन्न भएको छ ।’

वैदेशिक रोजगारीमा जाने श्रमिक सेवा लिन लाइन बस्नुपर्ने बाध्यता रहेकामा छोटो अवधिमै पूर्ण रुपमा अनलाइन सेवाको प्रभावकारी कार्यन्वयन हुनु ऐतिहासिक उपलब्धिका रुपमा रहेको उनले बताए । वैदेशिक रोजगारी सम्बन्धी सेवालाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन सूचना प्रविधिमार्फत सेवा प्रवाह गरिएको उनले जनाए ।

वैदेशिक रोजगारीमा श्रमिक पठाउने मुलुकमध्ये महामारीपछि पुरानै लयमा फर्केको देशमा नेपाल अग्रस्थानमा रहेको उल्लेख गर्र्दै उनले कोरोना भाइरस महामारीले बिथोलेको वैदेशिक रोजगारी र श्रम बजार पुरानै लयमा फर्काउन सफल भएको बताए । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन ज्यालादर वृद्धि, दुर्घटना बीमाको व्यवस्था, स्वास्थ्य र शिक्षा क्षेत्र समेट्ने गरी कार्यक्षेत्र थप गरिएको उनले बताए ।

आफू मन्त्रीका रुपमा आइसकेपछि श्रम कूटनीतिमार्फत रोजगार गन्तव्य मुलुकको विस्तार गरिएको जनाउँदै निवर्तमान मन्त्री श्रेष्ठले नेपाल–बेलायत श्रम समझदारीको मस्यौदा तयार भइसकेको बताए । इजरायलमा दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भएका श्रमिकलाई निजी क्षेत्र तथा बिचौलीयारहित सरकार–सरकार जिटुजी प्रक्रियामार्फत पहिलोपटक इजरायल पठाउन सुरु गरिएको उनले बताए ।

श्रमिकहरुको हकहितलाई ध्यानमा राखी नयाँ श्रम गन्तव्य मुलुकको खोजी र श्रम सम्झौताको नवीकरण गर्ने कार्यलाई अगाडि वढाउने क्रममा साउदी अरेविया तथा सेसेल्ससँग नयाँ श्रम सम्झौता एवं संयुक्त अरव इमिरेट्स, मलेसिया र कतारसँग भएका श्रम सम्झौतालाई समसामयिक परिमार्जन गर्ने तथा माल्दिभ्स, सिसेल्स र इजरायलको निर्माण क्षेत्रमा श्रमिक लैजाने सम्बन्धी श्रम सम्झौताको पनि तयारी भइरहेको उनको भनाइ छ ।

गन्तव्य मुलुकहरुको सहयोगमा सातवटै प्रदेशमा सीप विकास तालिम सञ्चालन गर्नका लागि प्रस्ताव अघि बढाइएको उनले बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम वजारको माग वमोजिमका तालिमहरु सञ्चालन गर्न आवासीय सुविधा सहितको व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठानको स्थापना गर्न बनेको गठन आदेश स्वीकृतिको चरणमा रहेको उनको भनाइ छ ।

‘अधिकारसम्पन्न स्वायत्त तालिम प्रतिष्ठानमार्फत ठुलो संख्यामा श्रमशक्तिलाई सीपयुक्त बनाउने, एकीकृत तथ्यांक प्रणाली विकास गर्ने र स्वदेशी तथा विदेशी रोजगारदातासँग समन्वय गरी युवाहरुलाई रोजगारीमा आबद्ध गराउने योजना अघि बढाइएको छ‘, उनले भने ।

प्रतिक्रिया