शुक्रबार, चैत १६, २०८०

विपद्बाट जोगिन विशेष सचेतना, स्थानीयलाई तालिम

नेपालखोज २०७९ असार १४ गते ९:४८

सिन्धुपाल्चोक । विपद्बाट जोगिनका लागि सशस्त्र प्रहरी बल, नेपाल नं १६ गण हेडक्वार्टर सिन्धुपाल्चोकले स्थानीयतहलाई तालिम प्रदान गरेको छ । मेलम्चीमा आइतबारदेखि दुई दिनसम्म सञ्चालन भएको तालिममा विपद् प्रतिकार्यमा गरिनुपर्ने योजनाबारे प्रशिक्षण दिइएको थियो । तालिममा जनप्रतिनिधि, महिला र स्वयंसेवक गरी २८ जनाको सहभागिता रहेको थियो । तालिममा प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले विपद् प्रतिकार्यमा सबै एक भएर लाग्नुपर्ने बताए । विपद् आउनै नदिने र आइहाले सबै मिलेर प्रतिकार्य गर्नुपर्नेमा उनको जोड थियो ।

बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको व्यवस्थापन तथा जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकको संयोजनमा तालिमको आयोजना गरिएको थियो । स्थानीय विपद् व्यवस्थापन समिति र नेपाल स्काउट बागमती प्रदेश तालिमको स्थानीय संयोजक रहेका थिए ।

विपद् व्यवस्थापन र न्यूनीकरणमा मेलम्ची नगरपालिका क्षेत्रमा यो तालिम प्रभावकारी रहेको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बताए । ‘नेपाल आर्मीले गरेको डेमो र सशस्त्र प्रहरीले दिएको यस्तो तालिम एकदमै प्रभावकारी छ’, तामाङले भने ।

विपद् व्यवस्थापनको सामग्री खरिदका लागि नगरपालिकाले प्रत्येक वडामा ५० हजार बजेट पठाएको तामाङले जानकारी दिए । नगरमा पनि आवश्यक सामान तयारी हालतमा राखेको उनले बताए । अबको तीन महिना तयारी अवस्थामा रही जनधनको रक्षा गर्न सबै एक भएर लाग्नुपर्नेमा उनको जोड थियो । दुईदिने तालिममा सहभागीलाई नगरप्रमुख तामाङ, प्रमुख जिल्ला अधिकारी, नगर उपप्रमुख उमा प्रधानले सहभागीलाई प्रमाणपत्र हस्तान्तरण गरे ।

प्रतिक्रिया