बुधबार, वैशाख १२, २०८१

सूचना आयोगमा अख्तियारविरुद्ध पुनरावेदन दिने विवेकशील पार्टीको चेतावनी

नेपालखोज २०७९ असार १४ गते १५:३७

काठमाडौं । नेपाल विवेकशील पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सूचनाको हक सम्बन्धी ऐनको बेवास्ता गरेको आरोप लगाएको छ । सो पार्टीले अख्तियारविरुद्ध राष्ट्रिय सूचना आयोगमा पुनरावेदन दिने चेतावनी दिएको छ । दोस्रो पटकको सूचनाको हक निवेदनमा पनि अख्तियारका प्रमुख आयुक्त तथा आयुक्तहरूले लिएको भत्ताको विवरण, सम्पत्ति विवरण सम्बन्धी जानकारी तथा बैठकसम्बन्धी जानकारी आयोगले नदिएको पार्टीले गुनासो गरेको छ ।

पार्टीका महासचिव शशिविक्रम कार्कीले अख्तियारमा कार्यालय प्रमुखलाई सम्वोधन गरी दोस्रोपटक सूचनाको हकमार्फत आयुक्तहरूले बैठक भत्ता लिए/नलिएको, सम्पत्ति विवरण बुझाएको/नबुझाएकोलगायत सार्वजनिक सरोकारका विषयमा केही सूचना माग गरेकामा आयोगले वेवास्ता गरेको जनाएका छन् । उनले सूचनाको हकसम्बन्धी नियमावलीले तोकेको समयसीमाभित्र कुनै जवाफ नदिएको विज्ञप्तिमार्फत जनाएका छन् । महासचिव कार्कीले गत आसार ५ गते निवेदक दर्ता गराएका थिए ।

सूचनाको हकसम्बन्धी ऐन २०६४ को नियमावलीको ५ (क) २ अनुरुप कार्यालय प्रमुखले माग गरिएको सूचनाको ७ दिन भित्रमा जवाफ दिनुपर्ने हुन्छ । तर दोस्रो पटक सूचनाको हकमार्फत सूचना माग गरेको ७ दिन बितिसके पछि पनि सूचना प्राप्त नभएको पार्टीको दाबी छ ।

निवेदक कार्कीले अख्तियारका सचिव तोयम रायसँग सूचना उपलब्ध नगराउनुको कारण बुझ्न फोनमार्फत पटक–पटक प्रयास गर्दा पनि सम्पर्कमा आउन नचाहेको जनाइएका छन् । प्रमुख आयुक्त प्रेमकुमार राईसँग पनि निवेदक कार्कीले पटकपटक सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन नसकेको गुनासो छ ।

प्रतिक्रिया