बुधबार, वैशाख ५, २०८१

४४ जनामा कोरोना, १७ जना डिस्चार्ज

नेपालखोज २०७९ असार १४ गते १६:३४

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या पछिल्लो समय घट्दो क्रममा छ । गत चौबीस घण्टामा नेपालमा ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो हिजो (साेमबार) को तुलनामा भने बढी हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो साेमबार सार्वजनिक गरेको तथ्यांकमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । हिजोको तुलनामा आज ३ जना संक्रमित बढेका हुन् ।

मन्त्रालयका अनुसार देशभरबाट आज १ हजार ८५२ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै ९४६ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको छ । मन्त्रालयका अनुसार नेपालमा हाल २२९ जना कोरोनाका सक्रिय संक्रमित छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप १७ जना कोरोना भाइरस संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । हिजो (साेमबार) भने २० जना कोरोना संक्रमणबाट मुक्त भएका थिए । योसँगै आजसम्ममा नेपालमा कोरोना संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या ९ लाख ६७ हजार ४२६ जना पुगेको मन्त्रालयले जनाएको छ ।

नेपालमा संक्रमण मुक्त हुनेदर ९८ दशमलव ८ प्रतिशत छ । त्यस्तै, गत चौबीस घण्टामा थप १ लाख ३६ हजार ९९६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया