बिहीबार, वैशाख १३, २०८१

बेरुजु फर्स्योट गर्न सरकार निरन्तर प्रयत्नशील छ : अर्थमन्त्री

नेपालखोज २०७९ असार १५ गते १६:३४

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बेरुजु फर्स्योटलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

महालेखा परिक्षकको कार्यालयले ६४औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा शर्माले बेरुजु फर्स्योटका लागि अहिलेसम्म अपनाएका विधि र प्रक्रियाबारे समीक्षा गर्नुपर्ने आवश्यकता देखेको पनि बताए । ‘यस वर्षको नीति तथा कार्यक्रममा समेत बेरुजु फर्स्योटलाई प्राथमिकतामा राखिएको छ,’ उनले भने, ‘सार्वजनिक आर्थिक कारोबार सञ्चालनमा पारदर्शिता र स्वच्छता कायम गर्न सरकार प्रतिबद्ध छ ।’ उनले लेखा परीक्षकहरूबाट प्राप्त सुझाव कार्यान्वयन गर्न तथा बेरुजु फर्स्योट गर्न सरकारले निरन्तर प्रयत्न गरिरहेको दाबी पनि गरे ।

‘बेरुजु किन बढदै गएको छ, कहाँनेर हाम्रो कमी कमजोरी भयो भन्ने कुराको अध्ययन, अनुसन्धान गरेर निराकरण गर्नुपर्ने आवश्यकता छ,’ अर्थमन्त्री शर्माले भने । संघीयता कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहको लेखा परीक्षण गर्नुपर्ने जिम्मेवारी पूरा गरी वित्तीय व्यवस्थापन चुस्त–दुरुस्त बनाउन पहिले झैं यस वर्ष पनि महालेखा परीक्षकबाट सुझाव प्राप्त हुने अर्थमन्त्री शर्माले विश्वास व्यक्त गरे ।

संविधान र प्रचलित कानुनअनुसार सुशासन कायम गर्न उल्लेखनीय कार्य गरेको भन्दै उनले महालेखा परीक्षक र मातहतका कर्मचारीको प्रशंसा गरेका थिए । ‘सार्वजनिक खर्च तथा स्रोतको दुरुपयोग, राजस्वतर्फ भएका चुहावट, हिनामिना, न्यूनबिजकीकरण, अनौपचारिक क्षेत्रबाट अर्थतन्त्रमा परेको नकारात्मक असर, सार्वजनिक तथा संगठित संस्था सञ्चालनका विषयहरूमा भने थप ध्यान दिनुपर्ने देखेको छु,’ उनले भने ।

अर्थमन्त्री शर्माले वर्तमान अर्थतन्त्रबारे महालेखा परीक्षकको कार्यालयबाट अध्ययन र विश्लेषण भई सुझाव पाउने अपेक्षा राखेको पनि बताए । ‘एकातिर अर्थतन्त्रको आकार दिन प्रतिदिन फराकिलो बन्दै गएको छ भने अर्कोतर्फ आर्थिक परिसूचकमा उचार–चढाव आइरहेको छ । यसो हुँदा अर्थतन्त्रका समग्र पक्षमा गहन अध्ययन, विश्लेषण र मूल्यांकन गर्नुपर्ने आवश्यकता देखेको छु,’ उनले भने, ‘यसमा महालेखा परीक्षकको कार्यालयका तर्फबाट सशक्त अध्ययन, विश्लेषण भई सुधारका लागि सुझाव पेस हुने अपेक्षा गरेको छु ।’

महालेखा परीक्षकको कार्यालयलाई एक विश्वसनीय संस्थाका रूपमा कार्य गर्न लेखा परीक्षकले आफ्नो निष्ठा, स्वतन्त्रता, व्यावसायिकता, राजनीतिक तटस्थता, सक्षमताजस्ता मूल्य मान्यता अनुशरणा गर्नुपर्ने अर्थमन्त्री शर्माको भनाइ थियो ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले महालेखा परीक्षकले गर्ने लेखा परीक्षणले मुलुकको सार्वजनिक प्रशाशनको वित्तीय अनुशासन र सदाचारबारे प्रस्ट पार्ने गरेको बताइन् । उनले आधुनिक प्रविधिमार्फत लेखा परीक्षण हुन थालेकामा खुसी व्यक्तसमेत गरिन् । महालेखा परीक्षकको प्रतितवेदनले हरेक वर्ष बेरुजु बढ्दै गएको तथ्य औंल्याउने भएकाले सुधारको खाँचो रहेको राष्ट्रपति भण्डारीको भनाइ थियो ।

प्रतिक्रिया