शुक्रबार, वैशाख १४, २०८१

बैंकिङ कसुर मुद्दाका फरार विष्णुमाया पक्राउ

नेपालखोज २०७९ असार १६ गते १५:००

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी विष्णुमाया योञ्जन पक्राउ परेकी छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले रामेछापको खाँडादेवी गाउँपालिका ५ घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका ८ बस्ने ४२ वर्षीया योञ्जनलाई पक्राउ गरेको हो ।

‘तीन दिन कैद र सात लाख रुपैयाँ जरिवाना ठहर भएकी योञ्जनलाई काठमाडौंको टेकुबाट आज (बिहीबार) पक्राउ गरिएको हो,’ सीआईबीका प्रवक्ता एवं सूचना अधिकृत प्रहरी उपरीक्षक श्यामकुमार महतोले भने । प्रवक्ता महतोका अनुसार योञ्जनले पर्याप्त मौज्दात रकम नभएको एनएमबि बैंकमा रहेको निजको नामको खाताबाट रकम भुक्तान हुने भनी जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी २०७७ फागुन १३ गते दिएको चेकको रकम भुक्तान हुन नसकेको भन्ने बैंकिङ कसुर मुद्दामा योञ्जनलाई उच्च अदालत पाटनबाट बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम कैद तथा जरिवाना हुने ठहर भएको थियो ।

उक्त सजाय बेरुजु भई फरार रहेका योञ्जनलाई ब्युरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरूको खोजतलास एवं पक्राउका लागि परिचालित टोलीले पक्राउ गरिएको महतोले विज्ञप्तिमार्फत जनाएका छन् । उनका अनुसार फैसला कार्यान्वयनका लागि बिहीबार नै ललितपुर जिल्ला अदालतमा पेस गरिएको छ ।

प्रतिक्रिया