शुक्रबार, वैशाख १४, २०८१

इरानमा मृत्युदण्डको संख्या अघिल्लो वर्षको तुलनामा दोब्बर

नेपालखोज २०७९ असार १७ गते १९:५०

इरान । इरानमा सन् २०२२ को पहिलो छ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा मृत्युदण्ड दोब्बरभन्दा बढी पुगेको ईरानको एक गैरसरकारी संस्थाले शुक्रबार जानकारी गराएको छ । फाँसीको बढोत्तरी हुनुमा विरोधीहरूलाई त्रास सिर्जना गर्ने उद्देश्यले गरिएको उक्त संस्थाले दाबी गरेको छ ।

गत वर्षको पहिलो छ महिनामा ११७ जनालाई मृत्युदण्ड दिइएकोमा यो बर्षको जनवरी १ देखि जुन ३० सम्म ईरानमा २५१ जनालाई फाँसी दिइएको नर्वेस्थित इरान ह्युमन राइट्स (आईएचआर) को एक रिपोर्टमा बताएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गत महिना मृत्युदण्डको वृद्धिप्रति चिन्ता व्यक्त गरेका थिए ।

इरानले उच्च सङ्ख्यामा लागुऔषध अपराधी र अल्पसंख्यक जातीय दलका धेरै व्यक्तिलाई मृत्युदण्ड दिएको थियो । इरानमा गत महिनाहरूमा खाद्यान्नलगायत आधारभूत आवश्यकताका सामग्रीमा मूल्य वृद्धि भएको भन्नेजस्ता आर्थिक गुनासोसँगै राष्ट्रव्यापी विरोध प्रदर्शनको सामना गरेको थियोे ।

आईएचआर संस्थापक महमूद अमिरी–मोघड्डमले एएफपीसँग भने, ‘बढ्दो लोकप्रिय शासन विरोधी प्रदर्शनको प्रतिरोध गर्न डर फैलाउनु यी मृत्युदण्डको मुख्य लक्ष्य हो भन्नेमा कुनै शंका छैन ।’ उनले भने, ‘मृत्युदण्डविरुद्धको सशक्त अन्तर्राष्ट्रिय प्रतिक्रिया र घरेलु अभियानले मात्रै अधिकारीलाई राजनीतिक बोध गराई मृत्युदण्डको बढ्दो प्रवृत्तिलाई रोक्न सक्छ ।’

मे ७ मा विरोध प्रदर्शनको नयाँ लहर सुरु भएदेखि नै १३७ जनालाई मृत्युदण्ड दिइएको उनले बताए । मृत्युदण्ड पाएकाहरूमध्ये छ महिलासमेत रहेको आईएचआरले बताएको छ । आईएचआरका अनुसार बुधबार मात्रै तेहरानबाहिर रहेको राजै शाहर जेलमा बलात्कार र हत्या अभियोगमा आठ जना कैदीलाई मृत्युदण्ड दिइएको थियो ।

प्रतिक्रिया