शनिबार, वैशाख १५, २०८१

साइबर सेक्युरिटी तालिम : महिला सहभागी भन्छन्- प्रभावकारी लाग्यो

नेपालखोज २०७९ असार १८ गते १९:३७

काठमाडौं । साइबर सेक्युरिटीसम्बन्धी सरोकारवालाले दिएको प्रशिक्षण प्रभावकारी लागेकोे सहभागी महिलाले प्रतिक्रिया दिएका छन् । काठमाडौंको टोखा नगरपालिका वडा नम्बर १ स्थित झोरमा शनिबार आयोजित तालिममा सहभागी महिलाहरूले साइबरसम्बन्धी प्रशिक्षकबाट सिकेका कुरा व्यवहारमा उतार्न प्रयास गर्ने जनाएका छन् ।

वडा सदस्य सुनिता काफ्लेले साइबर जोखिमबाट बच्न महिलाका लागि तालिम प्रभावकारी हुने विश्वास लिएकी छन् । आयोजक विष्णु-सरस्वती फाउन्डेशनलाई धन्यवाद दिँदै उनले लक्षित वर्गका महिलाका लागि अन्य कार्यक्रम पनि लिएर आउन सुझाएकी छन् । सहभागी अन्य महिलाले दैनिक जीवनमा सामाजिक सन्जालबाट हुनसक्ने जोखिमबाट जोगिनका लागि तालिम एकदमै फलदायी हुने प्रतिक्रिया दिएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सहभागी महिलासँग छलफल गर्दै साइबर सेक्युरिटीसम्बन्धी विशेष प्रशिक्षण दिए । उनले सामाजिक सन्जाल तथा मोबाइलको प्रयोग गर्दा विशेष सचेतना अपनाउनु पर्नेमा जोड दिए । मोवाइल फोन र सामाजिक सन्जाल चलाउन नजान्दा विभिन्न आपराधिक क्रियाकलाप गर्नेहरू झन् हौसिने भएकाले मोवाइल र फेसबुकको पासवर्ड समेत दोस्रो व्यक्तिलाई नदिन उनले सुझाव दिएका छन् ।

अध्यक्ष खनालले सामाजिक सन्जालमा चिठ्ठाको प्रलोभन र पासवर्ड ह्याक गरेर पनि आपराधिक कार्य हुने भएकाले सचेत हुन सुझाए । मोवाइल र सामाजिक सन्जाल चलाउन जति सजिलो छ, यसका उति नै अप्ठ्यारा भएको खनालको दाबी छ । आफ्नो हातमा भएको मोवाइल कुनै पनि हालतमा अरुलाई दिन नहुने बताउँदै उनले छोराछोरीले मोबाइल कसरी चलाइरहेका छन् भन्नेतर्फ पनि ख्याल गर्नुपर्ने जनाए ।

यस्तै कसैको फोेटो सेयर गर्दा एकपल्ट सोधेर मात्रै सेयर गर्नुपर्ने, पासवर्ड राख्दा विचार पुर्याउनु पर्ने, कसैले अत्यावश्यक भनेर रकम सहयोग मागे फोन गरेर वा भेटेर विश्वस्त हुनुपर्ने, यस्तै युवायुवतीले प्रेम गर्ने नाममा एक अर्कालाई पासवर्ड दिन नहुने लगायत विषयमा अध्यक्ष खनालले सचेत गराएका दिए । सामाजिक सन्जाल तथा मोवाइल चलाउँदै गर्दा कुनै शंकास्पद घटना हुन लागे शिघ्र प्रहरीमा खबर गर्न पनि उनले सुझाएका छन् ।

विष्णु–सरस्वती फाउन्डेशनकी अध्यक्ष अम्बिका शर्मा लामिछानेले तालिममा प्रशिक्षकबाट सिकेका विषय व्यवहारमा उतार्न आग्रह गरिन् । उनले साइबर सेक्युरिटीसम्बन्धमा सिकेका कुरा अन्य महिला साथी र बालबालिकालाई पनि सिकाउन आग्रह गरेकी छन् ।

कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश समिति सदस्य एवं महाधिवेशन प्रतिनिधि हरिहर अधिकारीले आयोजक संस्थालाई धन्यवाद दिँदै तालिम महिलाका लागि फलदायी हुने विश्वास व्यक्त गरे । टोखा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष रमेशकुमार लामिछानेले तालिममा सिकेका कुरालाई तालिममै सीमित नगर्न सहभागी महिलालाई आग्रह गरे । उनले झोर क्षेत्रका महिलालाई साइबरसम्बन्धी तालिम आयोजना गरेर गुन लगाएको भन्दै आयोजक विष्णु–सरस्वती फाउन्डेशनको प्रशंसा गरेका छन् ।

विष्णु–सरस्वती फाउन्डेशनको आयोजना, प्रभु बैंकको सहकार्य र नेपाल दूरसञ्चार प्राधिकरणको विशेष सहयोगमा टोखाको झोर क्षेत्रका महिलालाई साइबर सेक्युरिटी सम्बन्धी एक दिने तालिम दिइएको हो । महिलाहरू साइबर असुरक्षामा नपरुन् भन्ने उद्देश्यले प्रदान गरिएको तालिम सुरु हुनुअघिको सत्रमा रुपा कार्कीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।

प्रतिक्रिया