शुक्रबार, वैशाख १४, २०८१

पोखरा–३३ मा ल्यान्डफिल्ड साइट राख्ने विषयमा सर्वदलीय विरोध

नेपालखोज २०७९ असार १८ गते २०:५३

पोखरा महानगरपालिका–३३ भरतपोखरीमा ल्यान्डफिल्ड साइट राख्ने तयारी गरिएको भन्दै त्यसको विरुद्धमा राजनीतिक दलहरू एकताबद्ध भएका छन् । पोखरा–३३ मा क्रियाशील राजनीतिक दलको आज सम्पन्न सर्वदलीय बैठकले समग्र महानगरपालिकाको फोहोर व्यवस्थापन गर्न पोखरा महानगरपालिका–३३ टिमुरपाटामा प्रस्ताव गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेटमा नगरसभामार्फत जग्गा प्राप्ति र निर्माण प्रक्रिया सुरुवात गर्न १० करोड रुपैयाँ प्रस्ताव गरिएको भन्दै बैठकले उक्त कार्य रोक्न र निर्णय सच्याउन पोखरा–३३ वडा कार्यालयमार्फत महानगरपालिका र प्रमुख धनराज आचार्यसँग माग गर्ने सर्वसम्मत निर्णय गरेको छ ।

वडास्तरमा कुनै सल्लाह र छलफल नै नगरिएको भन्दै बैठकले आफूहरूको जायज मागलाई सम्बोधन नगरिएमा क्रमबद्ध रुपमा जनस्तरबाट नै सङ्घर्ष सुरु गरी उक्त कार्यलाई रोक्ने निर्णय गरेको छ । उक्त कार्यलाई रोक्न र अविलम्ब नगरसभाबाटै सच्याउन दलहरूका तर्फबाट संयुक्त ज्ञापनपत्र महानगरप्रमुखसमक्ष बुझाउने निर्णय गरिएको छ ।

निर्णयमा पोखरा–३३ का नेपाली कांग्रेसका सभापति तिलकप्रसाद अधिकारी, नेकपा एमालेका अध्यक्ष दीपकराज लामिछाने, नेकपा (माओवादी केन्द्र)का यज्ञप्रसाद अधिकारी (साना), नेकपा समाजवादीका मनोहर शर्मा आचार्य, जनता समाजवादी पार्टीका किरण थापा लगायतले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया