शुक्रबार, चैत १६, २०८०

‘आकर्षक च्याउ प्रायः विषाक्त हुन्छन्’

नेपालखोज २०७९ असार १९ गते १३:४३

काठमाडौं । च्याउ पौष्टिक तत्त्वले भरिपूर्ण चिज हो । यसमा एन्टी ट्युमर तत्त्व हुन्छ । नियमित रुपमा खानाले शरीरमा भएको ट्युमर नियन्त्रण गर्न सहयोग पुग्छ । यस्तै उच्च रक्तचाप तथा मधुमेह नियन्त्रणका लागि पनि च्याउ उपयोगी हुने बताइन्छ । च्याउमा भिटामिन बी पाइन्छ । यस्तै यसमा पाइने रिबोफ्लेभिन, नियासिन र प्यान्टोथेनिक एसिड संयोजनले मुटुको स्वास्थ्य जोगाउन मद्दत गर्छ । रिबोफ्लेविन रातो रक्त कोशिकाहरूको लागि राम्रो गर्छ । च्याउ नियासिन पाचन प्रणाली र स्वस्थ छालाका लागि राम्रो छ ।

तर यही पौष्टिक तत्त्वले भरिपूर्ण च्याउ खाएर ज्यान गुमाउनेको संख्या नेपालमा बढ्दो छ । वर्षाको समयमा प्रत्येक वर्ष ३० देखि ४० जनाले विषालु च्याउ खाएरै ज्यान गुमाएको विभिन्न तथ्यांकले पुष्टि गरेको छ । यो अस्पतालमा देखिएको रेकर्डको मात्र तथ्यांक हो । यो तथ्यांकभन्दा मृतकको संख्या अझ दोब्बर-तेब्बर बढी हुने आकलन छ ।

वास्तवमा च्याउ खाएर ज्यान गुमाउने समस्या नेपालको मात्र होइन विश्वव्यापी नै छ । एक तथ्यांकअनुसार त अमेरिकामा पनि हरेक एक लाखजनामा पाँचजना विषालु च्याउ खाएरै अस्पतालमा भर्ना हुने गरेका छन् । नेपालमा हजारभन्दा बढी च्याउका प्रजाति छन् । हजार प्रजातिमध्ये ११० जातका मात्रै खानयोग्य प्रमाणित भएका छन् । वास्तवमा जंगलमा पाइने च्याउ खानयोग्य हो कि होइन भन्ने नचिनेरै ज्यान गुमाउनेसम्मको अवस्था भएको पाइएको हो ।

यसैबीच पछिल्लाे बुटवलमा जंगली च्याउ खाँदा एकैगाउँका १९ जना बिरामी भएका छन् । उनीहरुमध्ये ६ जनाको अवस्था सिकिस्त छ । बुधबार (असार १५ गते) जंगलबाट ल्याएको च्याउ खाएपछि उनीहरु बिरामी परेका थिए । परम्परागत रुपमा केही प्रजातिका च्याउ औषधीय रुपमा नै प्रयोग गर्ने गरिन्छ । अधिकांश प्रजातिका च्याउ भने विषाक्त छन् । च्याउ विषालु हो कि होइन भनेर छुट्याउन प्रशस्त अनुभव र विज्ञताको खाँचो हुनुपर्ने देखिन्छ । मुख्य सहरमा च्याउको गुणस्तरीयता मापन गर्ने माध्यम भए पनि ग्रामीण भेकमा भने यो सम्भव छैन ।

नमिठो बासना आउने र रंगीन च्याउ प्रायः विषालु हुने विज्ञहरू बताउँछन् । यस्तै अधिकांश विषालु च्याउ बैजनी तथा गाढा रातो रङका पनि भएको पाइएको छ । अनुभवी तथा च्याउन विज्ञका अनुसार विषालु च्याउमा कीरा लाग्दैन । त्यसैले यस्ता च्याउ हेर्दा आकर्षक देखिन्छ ।

यस्तै च्याउलाई कुखुराको अन्डा वा दूधमा केही समय राख्नुपर्छ । यदि केही समयपछि त्यो अन्डा जम्यो वा दूध फाट्यो भने त्यो च्याउ खानयोग्य नहुने आयुर्वेद विज्ञ बताउँछन् । यस्तै च्याउको तरकारी वा च्याउ डुबाएको पानीमा चाँदीको सामान डुबाउँदा पानी नीलो अथवा कालो भए वा चम्चा नै नीलो भएमा त्यो च्याउ विशालु हो भनेर चिनिन्छ भन्ने पनि छ ।

आकर्षक देखिने च्याउ प्रायः विषाक्त हुन्छन् : पाेषणविद् उप्रेती

पहिचान नगरी च्याउ खाँदा स्वास्थ्यको जोखिम हुन्छ । चिकित्सक तथा स्वास्थ्यविद्हरू पहिचान गरेर वा अनुभवीसँग सोधेर मात्र च्याउ खान सुझाव दिन्छन् । पोषणविद् डा. अरुणा उप्रेती जंगलमा भेटिएको रंगीबिरंगी च्याउ नखान सुझाव दिन्छिन् ।

रातो, पहेंलो, हरियो, बैजनीलगायत विभिन्न रङका च्याउ आकर्षित भएर खान नहुने उप्रेतीको सुझाव छ । उनी भन्छिन्, ‘च्याउ पौष्टिकताले भरिपूर्ण खानेकुरा हो, नेपालमा धेरै मानिसले च्याउका परिकारहरू बनाएर खान्छन्, तर खानयोग्य च्याउ हो वा होइन पहिचान गरेर खाने बानीको विकास गर्नुपर्छ ।’

च्याउ मांसाहारीका लागि मात्रै होइन, माछामासु नखानेहरूका लागि पनि फाइदाजनक हुने स्वास्थ्यविद्हरू बताउँछन् । उच्च प्रोटिन पाइने भएकाले शाकाहारीका लागि च्याउ एकदमै स्वास्थ्यवर्द्धक हुने उनी बताउँछिन् । यसमा उच्च प्रोटिनको मात्रा हुने भएकाले भर्खरै बिरामी भएर उठेकालाई सुप बनाएर खान दिए शारीरिक विकासमा सहयोग पुग्ने डा. उप्रेती बताउँछिन् ।

च्याउलाई मरमसाला बढी नलगाईकन सुप बनाएरु खान दिए बालबालिकाको शारीरिक तथा मानसिक विकासमा टेवा पुग्ने डा. उप्रेतीको भनाइ छ । यसमा पर्याप्त रेसादार तत्त्व भएकाले कब्जियतलगायत समस्या नहुने उनी बताउँछिन् । जंगली च्याउ खासगरी नेपालको पहाडी तथा दुर्गम भेकमा बढी पाइन्छ ।

परम्परागत अनुभवका आधारमै च्याउ टिपेर खाने गरिन्छ । भूलवश चिन्न नसकेर विषालु च्याउ खाँदा सिकिस्त हुने र ज्यानै जानेसम्मको खतरा हुने गरेको छ । च्याउ खानु स्वास्थ्यका लागि एकदमै राम्रो हो । यद्यपि च्याउलाई राम्रोसँग चिनेर खाने बानीको विकास गर्नुपर्छ । जंगलबाट टिपेर ल्याइएको च्याउ खानयोग्य हो वा होइन, च्याउका जानकार तथा अनुभवीलाई देखाएर मात्रै खाए ज्यानको जोखिम हुनबाट बच्न सकिन्छ ।

प्रतिक्रिया