शुक्रबार, वैशाख ७, २०८१

ट्राफिक प्रहरीले चोरीका मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गर्‍याे

नेपालखोज २०७९ असार २० गते १८:३३

काठमाडौं । काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले उपत्यकाका विभिन्न स्थानबाट हराएका २० थान मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । ट्राफिक कार्यालयमा आयोजित एक कार्यक्रमका बीच विभिन्न कम्पनीका १७ वटा मोटरसाइकल र ३ वटा स्कुटर सम्बन्धित धनीहरुलाई कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक उमेश राज जोशीले हस्तान्तरण गरेका हुन् ।

विभिन्न मिति र स्थानबाट हराएका भनी परेको हुलिया निबेदन पश्वात परिचालित ट्राफिक प्रहरी टोलीले विशेष सक्रियताका साथ खोजतलास गरी मोटरसाइकलहरु फेला पारि सम्बन्धित धनीलाई जिम्मा लगाएको प्रनामनि जोशीले बताए ।

उनले भने, ‘हाम्रो टोलीले उपत्यका आसपासको इलाकामा बिशेष सूचना संकलन गरि अपरेसनमा गई मोटरसाइकलहरु बरामद गर्छन् । चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहिका लागी विभिन्न प्रहरी बृत्तहरुमा पठाउने गरेका छौं । अनुसन्धान पश्चात फेला परेका र बरामद गरेका मोटरसाइकलकहरु सम्बन्धित धनीलाई सम्पर्क गरि बुझाउने गरेका छौं ।’

थप प्रष्ट पार्दै डीआईजीपी जोशीले हराएका मोटरसाइकल खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुदै आएको तर स्वयं सवारी धनी पनि विशेष चनाखो र सजक हुनुपर्ने बताए । उनले सवारी चालक थप जिम्मेवार बनि सुरक्षित स्थानमा मात्र पार्किङ गर्न, अतिरिक्त लक तथा सुरक्षाका उपायहरुको समेत प्रयोग गर्न अनुरोध गरे । यस आ.व. ०७८/०७९ मा ४६३ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ भने ४४जना चोरीमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरि आवश्यक अनुसन्धान एवं कारबाहीको लागि विभिन्न प्रहरी वृत्तहरुमा पठाएको समेत ट्राफिक कार्यालयले जनाएको छ ।

मोटरसाइकल चोरीका घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी सक्रिय रहेको र नियन्त्रणका लागि विशेष अभियानलाई प्रभावकारी बनाउन पीडित सहायता इकाईबाट सादा पोशाकमा थप ट्राफिक प्रहरीसमेत ट्राफिक प्रहरी कार्यालयले परिचालन गरेको छ । सवारी साधन हराएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाईन नम्बर ‘१०३’ मा फोन गरेर वा ‘लस्ट भेहिकल एप्लिकेसन’ मा लगइन गरेर अनलाइनमार्फत समेत निवेदन दिन ट्राफिक कार्यालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया