शुक्रबार, चैत १६, २०८०

ठेकेदारको लापरवाहीले करोडौँको योजना पहिराेका जोखिममा

नेपालखोज २०७९ असार २१ गते ७:३४

खोटाङ । ठेकेदार कम्पनीको लापरवाहीले जिल्लामा सञ्चालित विभिन्न विकासे योजना सामान्य वर्षामै पहिरोको जोखिममा परेको छ । जिल्लामा सञ्चालित कतिपय योजना निर्माण सम्पन्न नहुँदै तथा कतिपय निर्माण सम्पन्न भएर सञ्चालनमा आएको केही दिन नबित्दै वर्षाको पानीले भत्किन थालेको हो ।  

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारको रत्नपार्कमा निर्माण गरिएको ‘सपिङ कम्प्लेक्स’ र ‘चिल्ड्रेन पार्क’को पर्खाल र मैदान सामान्य वर्षामै भासिएको छ । निर्माणस्थल सम्याउँदा फालिएको माटो भरेर पर्खाल उठाइएका कारण चिल्ड्रेन पार्कको पर्खाल र मैदान यही असार १७ गते राति भासिएको हो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नगरपालिकासँगको साझेदारीमा रु चार करोड ३७ लाख ८४ हजार ७५१ को लागतमा सपिङ कम्प्लेक्स र चिल्ड्रेन पार्कको मैदान निर्माण गरेको थियो । गत फागुन ३ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका तत्कालीन प्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले कम्प्लेक्स र चिल्ड्रेन पार्क उद्घाटन गरेका थिए ।  

निर्माण कम्पनी उमा–लामा–अनशुबी जेभीले ठेक्का लिएको सपिङ कम्प्लेक्स र चिल्ड्रेन पार्क २०७८ जेठ ६ गते शिलान्यास गरिएको थियो । सपिङ कम्प्लेक्सको तल्लो तलामा १४ वटा सटर र माथिल्लो तलामा रेस्टुरेन्ट हल, विभिन्न स्टल सञ्चालन गर्न मिल्ने संरचना निर्माण गरिएको छ । 

भाडावापत मासिक न्यूनतम रु दुई लाख ९७ हजार राजस्व सङ्लन गर्ने गरी रत्नपार्कमा चिल्ड्रेन पार्क र सपिङ कम्प्लेक्स निर्माण गरिएको नगरपालिकाले जनाएको छ । व्यावसायिक प्रयोजनका लागि निर्माण गरिएको कम्प्लेक्सको माथिल्लो तलाको पछाडिपट्टि चिल्ड्रेन पार्क निर्माण गरिएको छ । 

एउटै छानामुनि नुनदेखि सुनसम्मका व्यवसाय सञ्चालन गर्ने सटर भाडामा उपलब्ध गराउने गरी सपिङ कम्प्लेक्स तयार पारिएको तत्कालीन नगरप्रमुख रिजालले बताए । तर, निर्माण सम्पन्न गरेर सञ्चालनमा आएको चार महिना नबित्दै चिल्ड्रेन पार्कको पर्खाल भासिएपछि सामाजिक सञ्जालमार्फत तत्कालीन नगरप्रमुख र ठेकेदार कम्पनीको आलोचना सुरु भएको छ ।  

यस्तै प्रदेश सरकारको अनुदानमा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा निर्माण गरिएको कृषि हाटबजारको संरचना दुई हप्ता नपुग्दै भासिएको छ । पशु वधशालाका रूपमा प्रयोग गर्ने गरी तुवाचुङ कृषि हाटबजार निर्माण उपभोक्ता समितिमार्फत गत असार ४ गते निर्माण सम्पन्न गरिएको कृषि हाटबजारको संरचना दुई हप्ता नपुग्दै वर्षात्को पानीले भासिएको हो ।

प्रदेश सरकार कृषि मन्त्रालय १–प्रदेश विराटनगरको अनुदान र उपभोक्ता समितिको श्रमदान गरी रु १० लाख ६७ हजार ९८६ मा निर्माण गरिएको थियो । प्रदेश कृषि मन्त्रालयको अनुदान रु नौ लाख ६० हजार र उपभोक्ताको श्रमदान रु एक लाख सात हजार ९८६ को लागतमा पशु वधशालाको संरचना तयार पारिएको हो । 

उपभोक्ता समितिले कमसल र लापरवाही ढङ्गले काम गरेकाले हाटबजारको पर्खाल चिरा परेर भासिएको महादेवस्थानका वडाध्यक्ष कमल गिरीले बताए । हलेसी तुवाचुङ नगरपालिकाले तीन वर्षअघि सोही ठाउँमा पशु वधशालाका रूपमा प्रयोग गर्ने गरी आठ मिटरको हाटबजार ट्रस निर्माण गरेको थियो । वर्षातको पानीले ट्रसको प्राङ्गण भासिँदा पर्खालले ठाउँ छाडेर चिराचिरा परेको देखिन्छ । यस्तै शौचालय बनाइएको भाग पनि चिराचिरा परेको छ ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकै रहेको किराँत ऐतिहासिकस्थल मझुवागढीस्थित कालिका भगवती मन्दिरको टेवा पर्खालसमेत वर्षात्को पानीले भासिएको छ । मन्दिर निर्माणका लागि सम्याउने क्रममा फालिएको माटोमाथि लगाइएको पर्खाल गत शुक्रबार राति परेको अविरल वर्षाका कारण भासिएको हो । 

मन्दिरको अगाडिपट्टिको करिब ४० मिटर टेवा पर्खाल भासिएर चिराचिरा परेको पाइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रवक्ता एवं वडा नं ५ लफ्याङका वडाध्यक्ष दिनशे घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार टेवा पर्खाल भासिएर प्रेस (बल) परेपछि मन्दिरमुनिको ताकिल वारपार चर्किएको छ । 

गुणस्तरहीन टेवा पर्खाल निर्माण गरिँदा भासिएको अनुमान गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक विशन राईले बताए । टेवा पर्खाल भासिएर ताकिलसमेत चर्किएपछि गत वर्षमात्रै पुरातत्व विभागबाट निर्माण गरिएको कालिका भगवती मन्दिर जोखिममा परेको छ । रासस

प्रतिक्रिया