शनिबार, असोज १५, २०७९

‘स्तनपान गराउने आमाले खानपानमा ख्याल गरौं, मदिरा सेवन गर्दै नगरौं’

नेपालखोज २०७९ असार २२ गते ८:४१

काठमाडौं । स्तनपान बालबालिकाका लागि अमृत समान हुन्छ । बाल्यकालमा आमाको भरिपूर्ण दूध सेवन गरेका बालबालिकाको स्वास्थ्य भविष्यसम्म स्वस्थ रहने चिकित्सकहरू बताउँछन् । स्तनपान गराउने आमाले खाने कुराले पनि दूधको पर्याप्तता र गुणस्तरीयता निर्धारण गर्ने गर्छ । सही खाना नखाएका आमाले स्तनपान गराउँदा बच्चामा पाचन समस्या वा एलर्जीसम्बन्धी समस्या देखिन सक्छन् ।

बच्चाका लागि सही मात्रामा वा उत्तम गुणस्तरको दूध बनाउन विशेष खाना खान आवश्यक छ । बालबालिकाको शारीरिक तथा मानसिक विकासको हरेक चरणमा कस्तो पोषण चाहिन्छ भन्ने सम्बन्धमा आमाहरूले विशेष ख्याल गर्नुपर्ने हुन्छ । धेरै स्तनपान गराउने आमाहरू उनीहरूले खाने खानाहरूले स्तनको दूधलाई असर गर्छ कि भन्ने आशंका पनि गर्छन् । साना छोराछोरीलाई पाचनसम्बन्धी समस्या वा एलर्जीबाट बचाउनु छ भने केही यस्ता खानेकुरा छन्, ती खानु पनि हुँदैन । आमाले बच्चाका लागि सही मात्रामा दूध वा उत्तम गुणस्तरको दूध बनाउन विशेष खाना खान आवश्यक छ ।

नेपाली समाजमा सुत्केरी भएपछि आमालाई सुत्केरी मसला (ओखती) खुवाइने गरिन्छ । सुत्केरी मसला वा सुत्केरी औषधि गुँद, दालचिनी, मरिच, सुकमेल, जाइफल, ल्वाङ, मेथी, ज्वानो, किसमिस, बत्तिसाको धुलो, ओखर, काजु, नरिवल, गाईको ध्यु, दूधलगायत मिसाएर बनाइन्छ । यस्तो किसिमले बनाइएको परिकार पौष्टिकताले भरिपूर्ण हुने पोषणविद् डा. अरुणा उप्रेती बताउँछिन् । विशेष गरी ‘ओखती’ ३२ वटासम्म जडिबुटी लगाएर बनाउन सकिन्छ ।

यस्तै यस्तै ‘ज्वानाकोे झोल’ पनि खुवाइने गरिन्छ । वास्तवमा ज्वानाको झोल र ओखती स्तनपान गराउने आमासँगै बच्चाका लागि अति नै उपयोगी मानिन्छ ।सुक्खा र भुटेकोभन्दा रसिलो खानेकुरा खाँदा आमाले शिशुलाई पर्याप्त दूध खुवाउन सक्छिन् । उनको पनि स्वास्थ्य राम्रो हुन्छ ।स्तनपान गराउने महिलाले मासु, कुखुरा, माछा, अन्डा, डेयरी, सिमी, नट र बीउजस्ता प्रोटिनयुक्त खाना दिनमा २–३ पटक खानुपर्छ ।

प्रतिदिन गाढा हरियो र पहेंलो तरकारी, दाल, गेडागुडीको रस सेवन गर्नुपर्छ । यस्तै स्तनपान गराउने महिलाले आफ्नो खर्चले भ्याएजति केही न केही फलफूल खानुपर्ने चिकित्सकहरू सुझाउँछन् ।महिलाले दैनिक आहारमा गहुँको रोटी, पास्ता, अनाज र ओटमिलजस्ता सम्पूर्ण अन्न समावेश गर्न सक्छन् । यस्तै बेला शरीरलाई आवश्यक हुने पानी पिउनुपर्छ । सुत्केरी अवसथामा खाइने झोल पदार्थले मात्रै शरीरमा चाहिने पानीको मात्रा पूरा हुन सक्दैन ।

शाकाहारी आहार स्तनपानसँग मिल्दो हुन सक्छ । मासु नखाने महिला भए शरीरलाई चाहिने फलाम र जिंकका अन्य स्रोतहरू जस्तै– सुकेको सिमी, सुकेको फल, नट, बीउ र डेयरी खान सकिन्छ । माछामासुलगायत दूध, दही, घिउलगायत नखाने (भेगन) भए भिटामिन बी १२ पाइने खानेकुरा खोजी गरेर खानुपर्छ ।

स्तनपानलाई अतिरिक्त क्यालोरी चाहिन्छ । यदि बच्चाले तौल गुमाउँदै गएको छ भने प्रतिदिन अतिरिक्त पाँचदेखि ६ सय परिमाणमा क्यालोरी खान आवश्यक पर्दछ । ६ महिना पुगेपछि बालबालिकाले अन्य खानेकुरा खान थालेपछि कम स्तनपान गराउँदा हुन्छ र क्यालोरीको मात्रा पनि घटाउन सकिन्छ ।

यदि स्तनपान गराउने महिलाको मदिरा खाने बानी छ भने स्तनपानलाई तीन घण्टा अघिपछि गर्नुपर्छ । यसको मतलब मदिरा खाएको तीन घण्टापछि मात्रै स्तनपान गराउनुपर्छ । मदिरा नखाइ नसक्ने भए खानुअघि पम्पिङ गरेर बोटलमा दूध तानेर राख्नुपर्छ । तीन घण्टाको फरकमा दूधमा मदिरा रहँदैन । रगतमा अल्कोहलको स्तर घट्दा शान्त महसुस हुन्छ । रक्सी पनि दूधबाट हट्छ । यदि महिलाले रक्सीको प्रभाव महसुस गर्दै गरिरहेकी छन् भने स्तन भरिएको छ ‘पम्प र डम्प’ को आवश्यकता हुन सक्छ ।

महिलाले क्याफिनको मात्रा धेरै पाइने कफी र चिया पिउँदा पनि ख्याल गर्नुपर्छ । बच्चा राम्रोसँग सुतिरहेको छैन वा चिडचिडा छ भने, क्याफिनलाई सीमित गर्न वा सेवन गर्न रोक्न सकिन्छ । नवजात शिशुहरू ठूला बच्चाहरूको तुलनामा क्याफिनप्रति बढी संवेदनशील हुन सक्छन् ।

बालबालिकालाई फ्याटी एसिडको आवश्यक पर्छ, जुन मस्तिष्कको विकासका लागि आवश्यक छ । सातामा २–३ पटक माछा खाएर आफ्नो दूधमा फ्याटी एसिडका लागि डीएचए बढाउन सक्छन् । डीएचए पौष्टिक तत्त्वका उत्कृष्ट स्रोतमा सामन, ब्लुफिस, बास (एक प्रकारको माछाको प्रजाति), ट्राउट, फ्लाउन्डर र टुना, टाइल, स्वोर्डफिस, सार्क र किङ म्याकरेललगायत जातका माछा हुन् ।

प्रतिक्रिया