शनिबार, वैशाख २२, २०८१

मधेस प्रदेशसभाको बैठक : तीनवटा मन्त्रालयको विनियोजित बजेटमाथि दफावार छलफल

नेपालखोज २०७९ असार २२ गते २१:०२

धनुषा । मधेस प्रदेशसभाको बैठकमा आजदेखि प्रदेश सरकारको मन्त्रालयगत बजेटमाथि दफावार छलफल सुरु भएको छ । आज दिउँसो ३ बजे बसेको बैठकमा प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय, खानेपानी तथा ऊर्जा विकास मन्त्रालय र कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालयका लागि विनियोजित बजेटमाथि प्रदेशसभा सदस्यले दफाबाररूपमा आ–आफ्ना धारणा राखे ।

आजको बैठकमा प्रदेशसभा सदस्य परमेश्वर साह, सत्यनारायण मण्डल, शिवचन्द्र चौधरी, चमेलीदेवी दास, रानी शर्मा तिवारी, डा रिना यादव, मदनसेन श्रीवास्तव, शारदा थापा, सुरिता साह, बाबुलाल साह, सरोज कुमार सिंह, जयनुल राईन, लगनलाल चौधरी, ज्ञानेन्द्रकुमार यादव, उपेन्द्र महतो, अभिराम शर्मालगायतले बजेटमा गौरवको योजनालाई नभई टुक्रे योजनालाई प्राथमिकता दिएको भन्दै बजेटलाई संशोधन गरी पारित गर्नुपर्नेमा जोड दिए ।

भोलि दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय, गृह तथा सञ्चार मन्त्रालय र अर्थ मन्त्रालयका लागि विनियोजित बजेटमाथि दफावार छलफल हुने प्रदेशसभा सचिवालयका सचिव रञ्जीतकुमार यादवले जानकारी दिए ।

यस्तै असार २४ गते शुक्रवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वाणिज्य, आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालय, उद्योग पर्यटन तथा वन मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका लागि विनियोजित बजेटमाथि दफावार छलफल हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

मन्त्रालयगत बजेटको छलफल सकिएपछि असार २५ गते आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट पारित हुने बताइएको छ । प्रदेश सरकारका अर्थमन्त्री साहले यही असार १ गते प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० का लागि रु ४६ अर्ब ८८ करोड नौ लाख ४६ हजारको बजेट प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया