बुधबार, वैशाख १२, २०८१

विराटनगर महानगरको बजेट पारित

नेपालखोज २०७९ असार २६ गते ८:५१

मोरङ । विराटनगर महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतिले पारित भएको छ । महानगरको शनिबार बसेको १०औँ नगरसभाको दोस्रो बैठकले आगामी आर्थिक वर्षको बजेटसँगै नीति तथा कार्यक्रम पारित गरेको हो । महानगरले यही असार १० गते आगामी आवका लागि रु तीन अर्ब ६२ करोड ५५ लाख ६७ हजारको बजेट सार्वजनिक गरेको थियो ।

बैठकमा महानगर उपप्रमुख शिल्पा निराला कार्कीले प्रस्तुत गरेको आगामी आवको आर्थिक विधेयक, विनियोजन विधेयक र महानगर खेलकुद विकास विधेयक पनि सर्वसम्मतिले पारित गरिएको छ । त्यसैगरी बैठकले केही महत्त्वपूर्ण नीतिगत निर्णयसमेत गरेको प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले जानकारी दिए ।

बैठकले उपप्रमुख कार्कीको संयोजकत्वमा न्यायिक समिति र महानगर सदस्य बलराम कारञ्जितको संयोजकत्वमा लेखा समिति पनि गठन गरेको छ । न्यायिक समितिको संयोजक उपप्रमुख हुने संवैधानिक व्यवस्था छ । न्यायिक समितिको सदस्यमा वडा नं ११ का अध्यक्ष तीथेन्द्र न्यौपाने र वडा ९ का सदस्य रुपा देउजा चयन हुँदा लेखा समितिको सदस्यमा २ नं. वडाका सदस्य मेनुका परियार र ९ नं. वडाका सदस्य रियाज अहमदलाई सर्वसम्मतिले चयन गरेको बस्नेतले जानकारी दिए ।

सो अवसरमा महानगर प्रमुख नागेश कोइरालाले सबै वडाको समग्र विकासका लागि महानगरको आम्दानीको स्रोत वृद्धिका लागि राजस्व संकलनको दायरा बढाइ एक अर्ब रुपैयाँ पुर्‍याउनुपर्नेमा जोड दिए । उनले भौतिक संरचना निर्माणसँगै खानेपानी, सरसफाइ, डुबान समस्या समाधानका लागि बजेटका विषयमा दातृ निकायसित छलफल भइरहेको जानकारी दिए ।

उपप्रमुख कार्कीले महानगरको आर्थिक अवस्था बलियो बनाउनुपर्ने अवश्यकता औँल्याइन् । बैठकमा वडा नं ४ का वडाध्यक्ष जितन थापा, ७ का वडाध्यक्ष जितेन्द्र अग्रवाल, वडा नं. १ का सदस्य लक्ष्मीदेवी राई, ५ का वडासदस्य अन्जु दाहाल, ११ का वडासदस्य बलराम कारञ्जितलगायतले सडकबत्ती, सरसफाइ, डुबान समस्या, जनप्रतिनिधिका सेवासुविधालगायत विषयमा धारणा राखेका थिए । -रासस

प्रतिक्रिया