आइतबार, वैशाख २३, २०८१

गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा

नेपालखोज २०७९ असार २८ गते १८:२०

दमौली । आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेपाली भाषाका धरोहर आचार्यको जन्मजयन्तीको अवसरमा सरकारले असार २९ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेश सरकार मन्त्रिपरिषद्को गत चैतमा बसेको बैठकले भानु जयन्तीमा बिदा दिने निर्णय गरी राजपत्रमा सूचना प्रकाशित गरेको थियो । प्रदेश सरकारले भानु जयन्तीसहित असोज २३ गते कोजाग्रत पूर्णिमा, फागुन ४ गते गण्डकी प्रदेश सरकार स्थापना दिवस र चैत १५ गते चैते दसैँमा पनि बिदा दिने निर्णय गरेको थियो ।

तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घामा जन्मिनुभएका आचार्यको जन्मजयन्ती मनाउन चुँदीरम्घामा विविध कार्यक्रमको आयोजना गरिएको छ । विसं १८७१ असार २९ गते जन्मिनुभएका आचार्यको विसं १९२५ असोज ६ गते निधन भएको थियो । नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविको रुपमा परिचित भानुभक्त बाल्मिकी रामायणका अनुवादकका रुपमा प्रख्यात छन् ।

मोतिराम भट्टले उहाँलाई पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए । भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षा लगायतका कृति लेख्नुभएको छ, भने उनका पाण्डुलिपीलाई सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यिमा चिनिएकाम थिए ।

प्रतिक्रिया