शनिबार, जेठ ५, २०८१

लुम्बिनी इन्स्योरेन्सका सेयरधनी बोनस सेयर, साधारणसभाबाट मर्जरको प्रस्ताव पारित

नेपालखोज २०७९ असार २९ गते १७:३१

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले बुधबार वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष ०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब, लेखापरीक्षकको नियुक्ति, सञ्चालक समितिले सिफारिस गरेबमोजिम सेयरधनीहरूलाई कर प्रयोजनका लागि शून्य दशमलव पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएको कम्पनीले जानकारी दिएको छ ।

त्यस्तै विशेष प्रस्तावअन्तर्गत कम्पनीको हालको अधिकृत पुँजी एक अर्ब २५ करोडबाट वृद्धि गरी तीन अर्ब कायम गर्ने, चुक्ता पुँजीको नौ दशमलव पाँच प्रतिशतले खुद हुन आउने बोनस सेयर वितरण गर्ने, मर्जरसम्बन्धी काम गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गरिएको छ ।

त्यसैगरी, संस्थापक सेयरधनीहरूका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने चारजना सञ्चालक पदमा विश्वराज रेग्मी, मनोहरदास मूल, अरुणराज श्रेष्ठ र उमेश रेग्मी (प्रतिनिधि-लुम्बिनी बिकास बैंक लि.) निर्विरोध निर्वाचित भएको कम्पनीले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया