शुक्रबार, वैशाख २१, २०८१

घट्यो टेलिकमको महसुल, साउन १ देखि नयाँ दर !

नेपालखोज २०७९ असार ३२ गते १५:४५

काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराइरहेको विभिन्न सेवाको महसुलमा भोलि (साउन १ गते) देखि नयाँ दर लागु हुने भएको छ ।

नेपाल सरकारले हाल लिँदै आएको १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुरलाई साउन १ देखि लागु हुने गरी १० प्रतिशत गर्दा हुने नयाँ महसुल दर कायम गरिएको हो । कम्पनीले उपलब्ध गराइरहेको प्याकेजबाहेकको साधारण महसुल दरअन्तर्गतका भ्वाइस र डाटा सेवा तथा पीएसटीएन, एडीएसएल र एफटीटीएचलगायत सेवाको महसुलमा समेत लाग्दै आएको दस्तुरमा ३ प्रतिशत रकम स्वतः घट्नेछ ।

यसैगरी साउन १ देखि समर अफरअन्तर्गत विभिन्न आकर्षक प्याकेज उपलब्ध गराइएको छ । पहिले उपलब्ध सबै अफरलाई अब उही मूल्यमा थप डाटा तथा भ्वाइस मिनेट अफरका साथ उपलब्ध गराइएको छ ।

त्यसैगरी कतिपय अफरलाई परिमार्जन गरिएको छ भने केही नयाँ अफरसमेत थप गरिएका छन् । यसअनुसार केही अफरमा उही मूल्यमा पहिलेभन्दा ४ गुणासम्म बढीे डाटा भोल्युम थप भएका छन् । यसबाहेकका डाटा प्याकेज, भ्वाइस प्याकेज, एकदिने तथा एकमहिने प्याकेजहरुमा समेत सोहीअनुसारको रिसोर्स थप गरी आकर्षक बनाइएको छ ।

उदाहरणको लागि सीयूजी १००० मा १० जीबी डाटा प्रदान गर्दै आएकामा अब ४० जीबी प्रदान गरिएको छ । त्यस्तै सीयूजी १५०० मा २० जीबी डाटा प्रदान गर्दै आएकामा अब ८० जीबी प्रदान गरिएको छ । यसैगरी पोस्टपेड, प्रिपेडलगायत अन्य विभिन्न अफरमा पनि थप रिसोर्स प्रदान गरिएको छ ।

समर अफरअन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्न ग्राहकले एस्ट्रीक १४१५ ह्यास डायल गर्नुपर्नेछ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइटमार्फत यससम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ ।

प्रतिक्रिया