शुक्रबार, चैत १६, २०८०

सलमानले मागे आत्मरक्षाका लागि हतियार

नेपालखोज २०७९ साउन ७ गते १८:२०

मुम्बई । आफ्नो हत्याको धम्कीपत्र पाएका अभिनेता सलमान खानले आत्मरक्षाका लागि हतियार राख्न पाउनुपर्ने तर्क गर्दै हतियारको इजाजत दिन प्रशासनसमक्ष आवेदन गरेका छन् । गत महिना ग्याङ्स्टर लरेन्स बिश्नोईको गिरोहबाट आएको धम्की पत्रलाई ध्यानमा राख्दै आत्म–सुरक्षाको लागि हतियार लाइसेन्सका लागि उनले आवेदन गरेका मुम्बई पुलिसले जनाएको छ ।

अभिनेता खानले मुम्बईका प्रहरी प्रमुख विवेक फान्सालकरलाई भेटेर आफू र आफ्ना बुबालाई आएको मार्ने धम्कीपत्रबारे छलफल गरेका हुन् । भेटकै क्रममा उनले आत्मसुरक्षाको लागि हतियार लाइसेन्सको लागि आवेदन दिएका हुन् । गत मे २९ मा पन्जाबको मानसा जिल्लामा पञ्जाबी गायक सिद्धु मूस वालाको गोली हानी हत्या भएपछि ५ जुनमा सलमान खान र उनका बुबा सलिम खानलाई मार्ने धम्की आएको थियो ।

सलिम खानको सुरक्षा टोलीले उक्त चिठी मुम्बईको बान्द्रा ब्यान्डस्ट्यान्ड प्रोमेनेड नजिकै भेटेको थियो जहाँबाट उनीे नियमित बिहानको दौडमा निस्कने गर्छन् । अभिनेताले हिन्दीमा प्राप्त गरेको चिठीमा सलिम खान र उनका छोरा दुवैले मारिएका गायक सिद्धु मूसवालाको जस्तै नियति भोग्ने चेतावनी दिइएको प्रहरीले बताएको छ । महाराष्ट्र गृहमन्त्रालयबाट प्राप्त जानकारीअनुसार बिश्नोई गिरोहले अभिनेता खान र उनका बुबालाई धम्की दिनुको कारण आफ्नो शक्ति देखाउनु हो भनेको छ ।

उक्त गिरोहले ठूला व्यवसायी र कलाकारसँग रकम असुल्ने तयारी गरिरहेको बताइएको छ । धम्कीपत्र भेटिएपछि मन्त्रालयले खानको सुरक्षा निगरानी बढाएको छ । मुम्बई प्रहरीको अपराध शखाले धम्कीपत्रको छानबिन गरिरहेको छ । छानबिन गर्न गत महिना पुना गएको प्रहरी टोलीले लरेन्स बिश्नोई गिरोहका सदस्य सिद्धेश हिरामन काम्बले अर्थात् महाकालसँग सोधपुछ गरेको थियो ।

प्रतिक्रिया