बिहीबार, वैशाख ६, २०८१

भारतबाट फर्कनेमा कोरोनाको संक्रमण !

नेपालखोज २०७९ साउन ८ गते १५:१९

कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै नेपाल भित्रिने मानिसमा कोरोनाको संक्रमण देखिन थालेको छ । भारतबाट फर्कनेमा कोरोनाको संक्रमण देखिन थालेपछि सीमा क्षेत्रमा स्वास्थ्यकर्मीले उच्च सतर्कता अपनाएका छन् ।

शंकास्पद व्यक्तिको एन्टिजेन विधिबाट कोरोना परीक्षणको कार्य सीमा क्षेत्रमै गर्ने व्यवस्था गरिएको छ । सीमा नाका गड्डाचौकीमा रहेको हेल्थडेस्कका प्रमुख तर्कराज भट्टका अनुसार दैनिक चारदेखि पाँच जनामा कोरोनाको संक्रमण देखिन थालेको छ । भारतबाट फर्कने शंक्रस्पद व्यक्तिको एन्टिजेट विधिबाट परीक्षण गर्दा दैनिक नतिजा पोजेटिभ आउनेको सङ्ख्या बढ्दो छ ।

एक साताको अवधिमा २२ जना बढीमा कोरोनाको संक्रमण देखिएको उनले बताए । उनले भने, ‘आज बिहान मात्रै एन्टिजेन परीक्षण गर्दा चारजनाको नतिजा पोजेटिभ देखिएको छ । गत मंगलबार मात्रै नौजनाको एन्टिजेनको नतिजा पोजेटिभ देखिएको थियो ।’

दैनिक दुई सय बढीको एन्टिजेन परीक्षणको कार्य हुँदै आएको छ । एन्टिजेन परीक्षण गर्दा नतिजा पोजेटिभ आएकालाई सीमा क्षेत्रबाटै एम्बुलेन्समार्फत महाकाली प्रादेशिक अस्पताल पठाउने व्यवस्था गरिएको छ । उनले भने, ‘एन्टिजेनको नतिजा पोजेटिभ आएकालाई निःशुल्क रुपमा एम्बुलेन्समार्फत अस्पताल पठाउने गरेका छौँ । अस्पतालमा परामर्श पश्चात होम आइसोलेशनमा पठाइने गरिएको छ ।’

कोरोना परीक्षणका लागि आवश्यकपर्ने किटलगायतका सामग्रीको हालसम्म अभाव नरहेको उनले बताए । दैनिक सीमा नाका भएर फर्कनेको सङ्ख्या चारदेखि पाँच सयको सङख्याको हाराहारीमा रहने गरेको छ । भारतबाट फर्कने व्यक्तिमा कोरोनाको सङ्क्रमण देखिन थालेपछि परीक्षणको कार्यलाई तीव्रता दिइएको स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले बताए । कोरोनाविरुद्धको जनचेतना फैलाउने कार्यसँगै पालिकामा कोरोनाविरुद्धको खोप लगाउने कार्यलाई निरन्तरता दिँदै आएको उनले बताए । -रासस

प्रतिक्रिया