शुक्रबार, वैशाख १४, २०८१

साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड २०२२ को नोमिनेसन खुल्यो

नेपालखोज २०७९ साउन ११ गते १६:०८

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित आईसीटी अवार्डको सातौं संस्करणमा दक्षिण एसियाली देशहरूको स्टार्टअपहरूबीच प्रतिस्पर्धा हुने भएको छ । साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड २०२२ को अनलाइन नोमिनेसन आज (बुधबार) देखि खुला भएको छ ।

लिभिङ विथ आईसीटीको आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाको सहकार्यमा आयोजनामा हुन लागेको ‘आईसीटी अवार्ड २०२२’ अन्तर्गत पहिलोपटक दक्षिण एसियाली देशहरूलाई लक्षित गरेर अवार्डको घोषणा गरिएको आयोजकले जानकारी दिएको छ । यस अवार्ड विधामा दक्षिण एसियाली देशहरू भारत, बंगलादेश, श्रीलंका, भुटान, पाकिस्तान, अफगानिस्तान, माल्दिप्सका ४ वर्ष ननाघेका आइटी तथा डिजिटल स्टार्टअप कम्पनीहरूले नोमिनेसन दर्ता गर्नसक्नेछन । यस विधाको लागि विभिन्न देशका विज्ञहरू सहितको छुट्टै छनोट समिति रहनेछ ।

सन् २०१६ बाट सुरु भएको आईसीटी अवार्ड हरेक वर्ष परिस्कृत र विस्तारित रुपमा आयोजना हुदै आइरहेको छ । यस वर्षदेखि अन्तर्राष्ट्रिय स्तरमा पनि स्टार्टअप इकोसिस्टमको विकास गर्न यस अवार्डलाई घोषणा गरिएको आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए । प्रविधि तथा इन्नोभेसनमा दक्षिण एसियाली देशहरू अग्रसर भइरहेको अवस्थामा यस अवार्डले दक्षिण एसियाली देशहरूमा थप सहकार्यको वातावरण बन्ने लम्सालको भनाई छ । यसअघि विभिन्न ११ विधाहरूको लागि नोमिनेसन खुल्ला भइसकेको छ ।

यस वर्ष नोमिनेसन खुला गरिएको ११ अन्य विधामा स्टार्टअप आईसीटी अवार्ड (नेपाल), प्रडक्ट आईसीटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड गरी ३ विधाहरू स्टार्टअप तथा इन्नोभेसन सम्वन्धित विधाहरू रहेका छन । आईसीटीको क्षेत्रमा विशेष योगदान गरेका व्यत्तिहरूलाई दिइने अवार्डका विधाहरूमा पायोनियर आईसीटी अवार्ड, आन्टरप्रेनर आईसीटी अवार्ड, नेपाली डायस्पोरा आईसीटी अवार्ड र वुमन आइकन आईसीटी अवार्ड रहेका छन् ।

यसैगरी प्रविधिको प्रयोग मार्फत उत्कृष्ट सेवा दिने सरकारी तथा निजी संस्थाहरूलाई प्रदान गरिने अवार्डहरूमा डिजिटल एजुकेसन आईसीटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेसन आईसीटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आईसीटी अवार्ड र डिजिटल सर्भिसेस आईसीटी अवार्ड रहेका छन् । आईसीटी अवार्डमा नोमिनेसन दर्ता गर्न प्रतिस्पर्धी आफै वा अन्य कसैले अनलाइन नोमिनेसन दर्ता गर्न सक्नेछन । अवार्डमा नोमिनेसन गर्न आईसीटी अवार्ड डटओआरजी वेबसाइटमा गएर विधा छनोट गरी अनलाइन फारम भरेर बुझाउनुपर्नेछ ।

आईसीटी अवार्ड २०२२ को ग्राण्ड फिनाले पुस पहिलो साता आयोजना हुनेछ । यो ६ महिनाको समय अवार्डलाई हरेक किसिमले उत्कृष्ट र पारदर्शी बनाउन आयोजकले ५ भन्दा बढी चरणमका छनोट प्रक्रियालाई अगाडी बढाउनेछ । १२ जना विज्ञ जुरी समिति र १३ जना विशिष्ट सल्लाहकार समिति रहेको यस अवार्डमा २५ भन्दा बढि जुरी मिटिङ सञ्चालन हुनेछन । अवार्ड फिनाले अघि स्टार्टअप एन्ड आइडिया फेस्ट लगायतका कार्यक्रमहरू पनि आयोजना हुने बताइएको छ ।

अवार्ड विजेताहरूले विशिष्ट सम्मानसँगै विभिन्न सेवा र सुविधाहरू प्राप्त गर्नेछन् । स्टार्टअप विधाका विजेताले सहुलियतपूर्ण ऋण सुविधा र लगानीको अवसर समेत प्राप्त गर्नेछन् । यसैगरी अवार्डका विजेता र उत्कृष्टले वल्र्ड समिट अवार्डमा पनि सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन । यस कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दुरसञ्चार प्राधिकरण, नाष्ट, एफएनसीसीआईलगायत निजी क्षेत्रका कर्पोरेट संस्थाहरूको सहकार्य तथा सहयोग रहेको छ ।

प्रतिक्रिया