बिहीबार, चैत १५, २०८०

नेपाल टेलिकमले ल्यायो ‘एसईई अफर’, विद्यार्थीलाई निःशुल्क सिम

नेपालखोज २०७९ साउन ११ गते १७:३०

काठमाडौं । नेपाल टेलिकमले एसईई पास भएका विद्यार्थीका लागि एसईई अफरसहितको निःशुल्क सिम उपलब्ध गराउने भएको छ । उक्त सिम नेपाल टेलिकमका देशभरका कार्यालयबाट निःशुल्क उपलब्ध हुनेछ । विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने सोही सिममा यी अफरहरू उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ ।

नयाँ सिम प्राप्त गर्न विद्यार्थीले प्रवेशपत्र वा मार्कसिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता वा अरू परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्नेछ । सिम लिइसकेपछि स्टुडेन्ट रजिस्टे«शन प्याक प्राप्त गर्न नयाँ मोबाइल नम्बरबाट एस्ट्रिक १६०० ह्यासमा डायल गरी प्राप्त निर्देशन बमोजिम सिम्बोल नम्बर र जन्म मिति (विक्रम सम्वत) उल्लेख गर्नुपर्दछ ।

उक्त स्टुडेन्ट रजिस्टे«सन प्याकबाट नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक १० मिनेट कुराकानी गर्न र १० वटा एसएमएस पठाउन तथा १०० एमबी डाटा प्रयोग गर्न सकिनेछ । यसअनुसार ३० दिनसम्म ३ हजार एमबी डाटा, ३०० मिनेट टकटाइम र ३०० वटा एसएमएसको सुविधा प्राप्त हुनेछ । यो अफर भएको नयाँ सिममा बोनस अन रिचार्ट प्याकसमेत उपलब्ध गराइएको छ । यस प्याकमा ५० रुपैयाँ वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि ५०० एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुनेछ ।

विद्यार्थीले पहिलेदेखि नै प्रयोग गरिरहेको नेपाल टेलिकमको मोबाइल नम्बरमा स्टुडेन्ट रजिस्टे«सन प्याक उपयोग गर्न प्रयोग गरिरहेको मोबाइलबाट एस्ट्रिक १६०० ह्यासमा डायल गरी प्राप्त निर्देशनबमोजिम सिम्बोल नम्बर र जन्ममिति उल्लेख गर्नुपर्दछ । त्यसपछि नेपाल टेलिकमले प्राप्त सूचनाका आधारमा उक्त सिमलाई विद्यार्थी सिमका रूपमा रजिस्टर गर्दछ र स्टुडेन्ट रजिस्टे«सन प्याकअनुसारका सुविधाहरू प्राप्त गर्न सकिनेछ ।

नयाँ सिम प्राप्त गरेका विद्यार्थीले सिम कार्डमा मेन ब्यालेन्सका रूपमा उपलब्ध हुने ९.८ रुपैयाँबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सक्नेछन् भने योबाहेक ४० मिनेट टक टाइम र २० वटा एसएमएससहितको सुविधा एक महिनाभित्र नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सक्नेछन् । त्यसैगरी सोही अवधिमा ६० एमबी डाटा पनि चलाउन सकिनेछ । हाललाई यो अफर तीन महिनासम्म उपलब्ध हुनेछ ।

प्रतिक्रिया