आइतबार, जेठ ६, २०८१

ब्राजिलमा मंकीपक्सबाट एक जनाको मृत्यु

नेपालखोज २०७९ साउन १४ गते १२:४३

ब्राजिलिया। ब्राजिलमा मंकीपक्सबाट पहिलो पटक मानवीय क्षति भएको छ । सरकारी अधिकारीहरुले शुक्रबार ब्राजिलमा मंकीपक्सबाट पहिलो व्यक्तिको मृत्यु भएको पुष्टि गरेका हुन ।

ब्राजिलको दक्षिणपूर्वी मिनाज गेराइस राज्य अन्तर्गत पर्ने बेलो होरिजोन्ट भन्ने ठाउँमा ४१ वर्षीय एक व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बिरामी भएपछि ती व्यक्तिलाई गम्भीर स्वास्थ्य अवस्था रहेको ठानेर उपचार गराइएको भएपनि उपचार सफल हुन नसकेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

उनलाई क्यान्सर लगायतका अन्य गम्भीर प्रकृतिका रोगले समेत चापेकाले उपचार सफल हुन नसकेको उनीहरुको भनाई छ । मृत्यु भएका व्यक्तिको परिचय भने औपचारिक रुपमा सार्वजनिक गरिएको छैन । तर ती व्यक्तिलाई बेलो होरिजोन्टमा रहेको सार्वजनिक अस्पतालमा उपचार गराइएको थियो ।

मिनास गेराइस राज्यका स्वास्थ्य अधिकारीहरुले त्यस प्रदेशमा मात्रै ४४ जनामा मंकीपक्सको संक्रमण पुष्टि भइसकेको जनाएको छ । अरु १३० जनामा त्यसको शंका गरिएको पनि उनीहरूको भनाई छ ।

प्रतिक्रिया