शनिबार, वैशाख २२, २०८१

५० करोडमा बन्यो फिस्टेल ड्रिम पार्क (फोटो फिचर)

नेपालखोज २०७९ साउन १५ गते १५:४६

पोखरा । पछिल्लो समय नेपालमा वाटर स्पोर्टस् पार्क ग्राहकको नियमित मनोरञ्जनको केन्द्र बनेको छ । यही माहोल छोप्दै पोखरामा ५० करोड लगानीमा अन्तर्राष्ट्रिय स्तरको फिस्टेल ड्रिमपार्क सञ्चालनमा आएको छ ।

फिस्टेल ड्रिमपार्क मानिसहरू रमाइलो गर्न आउने केन्द्रका रुपमा निर्माण गरिएको सञ्चालक भरत गौतम बताउँछन् । ‘यसअघि पोखरामा यो स्तरको पार्कहरू बनेका छैनन् । कुनै पनि व्यक्ति वा परिवार यहाँ आएर पूरै दिन बिताएर रमाइलो गर्न सक्ने प्रकारको इभेन्ट्सहरू हामीसँग उपलब्ध छन्,’ गौतम भन्छन् ।

इन्डोर गेम, ड्राई पार्क, वेट पार्क, सोफा स्लाइड, लेजी रिभर, फ्रि फल, ट्रोनाडो बावल, वेभ पुल, रेललगायतका करिब २५ थरीका गतिविधिमा रमाउन सकिने गौतमले जानकारी दिए । पार्कको प्रवेश शुल्क दुई सय रुपैयाँ छ । जसमा बच्चाका लागि ५० प्रतिशत छुटको व्यवस्था रहेको छ । यस्तै, वाटर पार्कको प्याकेज १२ सय र ड्राइपार्क प्याकेज ४५० रुपैयाँमा उपलब्ध छन् । प्रवेशपछि सीमित खेल खेल्न चाहनेका लागि प्रतिखेलको १५० देखि ३०० रुपैयाँसम्म लाग्नेछ ।

पानीमा खेलिने वा भनौँ गर्मीमा खेलिने खेलहरू मात्र नभइ पानी नचाहिने खेलहरू पनि पार्कमा राखिएका छन् । जुनसुकै मौसममा पनि मानिसहरू आएर रमाइलो गर्न सकिने गरी व्यवस्था मिलाउने क्रममा एकै ठाउँमा वाटर र ड्राइ पार्कको परिकल्पना गरिएको ल्याइएको गौतम बताउँछन् ।

‘कतिपय यस्ता पार्कहरू ६ महिना खुल्ने र ६ महिना बन्द हुने हुन्छ । त्यस्तो नहोस् भनेर हामीले बच्चाका लागि छुट्टै इन्डोर गेमहरू राखेका हौँ,’ गौतम थप्छन्, ‘यस पार्कमा जडान गरिएको प्रविधि एवं सामाग्री भारत र चीनबाट ल्याइएको हो । ग्राहकको सुरक्षाका लागि हामीले विशेष ध्यान दिएरै क्वालिटी प्रोडक्टहरू जडान गरेका छौँ ।’

६५ रोपनीमा फैलिएको पार्कमा विभिन्न खेल गरेर ५ हजार मानिस एकैपटक रमाउन सक्छन् । पार्कमा करिब सयजनाले प्रत्यक्ष रोजगारी पाएका छन् । पार्क पोखराको पुरानो एयरपोर्टबाट करिब ४ किलोमिटर र पृथ्वीचोकबाट करिब ५ किलोमिटरको दूरीमा छ । पार्कमा जान निजी मात्र नभइ एयरपोर्टबाट ढुंगेसाहु, सीतापाइला जाने सार्वजनिक यातायातबाट पनि पुग्न सकिन्छ ।

प्रतिक्रिया