शनिबार, जेठ ५, २०८१

धौलागिरि लघुवित्तको आईपीओ साउन २४ देखि आउने

नेपालखोज २०७९ साउन १७ गते १०:२५

काठमाडौं । बागलुङमा केन्द्रीय कार्यालय रहेको धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडको साउन २४ गतेदेखी सार्वजनिक सेयर (आईपीओ) निष्कासन हुने भएको छ ।

जसको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । हाल उक्त कम्पनीको चुक्ता पुँजी सात करोड रहेकामा आईपीओ निष्कासनपश्चात् १० करोड ३१ लाख पुग्नेछ । हाल सात करोड पुँजी रहेको कम्पनीको अपरिष्कृत वित्तीय विवरणबमोजिम जगेडा तथा कोषमा ११ करोड रहेको छ । जसबाट प्रतिसेयर नेटवर्थ दुई सय ५७ रुपैयाँ हुन आउँछ ।

कम्पनीको सञ्चित नाफा–नोक्सानीसमेत ४.६ करोडभन्दा माथि रहेकोले सार्वजनिक सेयर निष्कासनपछि समेत सेयरधनीहरूका लागि ४० प्रतिशतभन्दा बढी लाभांश वितरण गर्ने क्षमता रहेको वित्तीय विवरणले देखाउँछ । हाल राष्ट्रिय स्तरको उक्त लघुवित्त कम्पनीले ४४ शाखा कार्यालयबाट सेवा विस्तार गर्दै आइरहेको छ । जसबाट करिब ३६ हजार ग्राहक सदस्यमार्फत कुल एक सय ४४ करोड कर्जा विस्तार र ६८ करोड बचत संकलन गरेको छ ।

आ.व. ०७८/७९ को अपरिष्कृत वित्तीय विवरणबमोजिम उक्त कम्पनीको पैसा प्रतिसेयर आम्दानी ३७ रुपैयाँ २५ पैसा रहेको छ ।

प्रतिक्रिया