शुक्रबार, चैत १६, २०८०

वर्ल्डलिंकलाई मधेस प्रदेश सरकारको आईसीटी अवार्ड

नेपालखोज २०७९ साउन १८ गते १६:२४

काठमाडौं । देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ‘प्रदेशको इमर्जिङ सेक्टर’का लागि इनोभेसन अवार्ड प्राप्त गरेको छ ।

प्रदेशको अर्थतन्त्र रूपान्तरण गर्न सूचना तथा सञ्चार प्रविधि (आईसीटी) महत्त्वपूर्ण योगदान रहेको भन्दै मधेस प्रदेशले कम्पनीलाई यो अवार्डबाट सम्मानित गरेको हो । मधेस प्रदेशमा समेत सञ्चालनमा रहेको, सफल व्यावसायिक मोडेल तयार पारेको, रोजगारी सिर्जना गरेको र जनताका लागि उपयोगी उत्पादन तथा सेवा ल्याएका आधारमा यस्तो अवार्ड दिइएको हो । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले वर्ल्डलिंकका निर्देशक लक्ष्मण यादवलाई उक्त अवार्ड हस्तान्तरण गरेका हुन् । त्यसक्रममा नेपालका लागि बेलायती राजदूत निकोला पोलिट र प्रदेशका अन्य मन्त्रीहरूको समेत उपस्थिति थियो ।

यस कम्पनीले नेपालका विभिन्न सहरी तथा ग्रामीण क्षेत्रमा बृहत् फाइबर नेटवर्क निमार्ण गरी नेपालको ७५ जिल्लामा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको छ । यस कम्पनीले वर्तमान समयमा ६,४५,००० भन्दा बढी घरधुरी इन्टरनेट प्रयोगकर्ता तथा ९,००० भन्दा बढी संघ-संस्था, बैकं एवं वित्तीय संस्था तथा सरकारी कार्यालयहरुलाई इन्टरनेट एवं डाटा कनेक्टिभिटीलगायत १३ हजारभन्दा बढी स्थानमा फ्री वाइफाई सेवा उपलब्ध गराइरहेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषमार्फतको परियोजनाअन्तर्गत यस कम्पनीले नेपालको विकट क्षेत्र कर्णाली प्रदेशको आठै जिल्ला र गण्डकी प्रदेशको पाँच जिल्लामा सफलतापूर्वक नेटवर्क विस्तार गरी इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया