शनिबार, जेठ ५, २०८१

राष्ट्रिय बिमा कम्पनी नवौं वर्षमा, नेतृत्वदायी भूमिका खेल्न सरोकारवालाको सुझाव

नेपालखोज २०७९ साउन १९ गते १३:१०

काठमाडौं । समयसापेक्ष आधुनिक प्रविधिको प्रयोग र जनशक्ति विकासगरी बिमा बजारको नेतृत्वदायी भूमिका खेल्न सरोकारवालाहरूले राष्ट्रिय बिमा कम्पनी लिमिटेडलाई सुझाव दिएका छन् । कम्पनीको नवौं वार्षिकोत्सवका अवसरमा राजधानीमा आयोजित समारोहमा विभिन्न सरोकारवालाले समयसापेक्ष आधुनिक प्रविधिको प्रयोग र जनशक्ति विकासका लागि आवश्यक लगानी र चुस्त व्यवस्थापनबाट थप कुशल र प्रतिस्पर्धी तथा बजारको नेतृत्वदायी भूमिका खेल्न सुझाव दिएका हुन् ।

अर्थ मन्त्रालयका राजस्व सचिव कृष्णहरि पुष्करले कम्पनीले पूर्ण प्रतिबद्घताका साथ प्रभावकारी सुशासन एवं चुस्त सेवामार्फत आफ्ना ग्राहक तथा सरोकारवालाको अपेक्षा पूरा गर्दै अगाडि बढ्न आग्रह गरे । सरकारी स्वामित्वको एकमात्र निर्जीवन बिमा कम्पनीका रूपमा कम्पनीले आफनो विगतको कार्य प्रगतिको समीक्षा गर्दै थाती रहेका लेखापरीक्षण कार्य सम्पन्न गर्न उनले आग्रह गरे । प्रचलित बिमासम्बन्धी कानुनको ऐन एवं बिमा नियमाबलीको अधीनमा रही समयमै आफनो वित्तीय विवरणको प्रकाशन गर्नुका साथै वित्तीय पारदर्शिता, बिमाको व्यावसायिकता, संस्थाको मर्यादा तथा गुणात्मक क्षमता बढाउन पनि उनले आग्रह गरे ।

बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले कम्पनीले आफनो सेवालाई सर्वसाधारण र विपन्न वर्गसम्म पुर्‍याई बिमाको पहुँच र दायरा बढाउन बिमा बजारका नवीनतम अवसरलाई आत्मसात् गर्दै प्रतिस्पर्धात्मक एवं ग्राहकमुखी बिमा सेवा उपलब्ध गराउन आग्रह गरे । समितिले तोकेको समयसीमाभित्र पुँजी वृद्घि नगर्ने कम्पनीको कारोबार रोक्का गर्ने पनि उनले बताए । तोकिएको समयसीमाभित्र तोकिएको पुँजी नपुर्याउने सरकारी र निजी क्षेत्रको जुनसुकै कम्पनीलाई पनि कानुनी दायरामा ल्याउने उनको भनाइ थियो ।

नेपाल सर्भेयर एसोसिएसनका अध्यक्ष मोहनपुरुष ढकाल कम्पनीले दुई किसिमको काम गरेको भन्दै एउटा अभिकर्ताको कमिसन कम गरिदिएको र अर्को बिमक संघ र सर्भेयर एसोसिएसनबीचमा बसेर निर्धारण गरिएको शुल्क कम्पनीले कम गरिदिएको बताए । कम्पनीसँग सर्भेयर एसोसिएसनले सहकार्य गरेर अगाडि बढ्न खोजेको भन्दै अहिले भएका अवरोध हटाइदिन उनले आग्रह गरे । कम्पनीका अध्यक्ष राजेश्वर ज्ञवालीले अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्घन भएका बिमा कार्यक्रमका साथै कर्पोरेट क्षेत्रका व्यावसायिक जोखिम तथा परम्परागत बिमा व्यवसायका सबैखाले आर्थिक गतिविधिसँग कम्पनीको बिमा व्यवसायलाई समेट्दै लैजाने कार्य तीव्र गतिमा हुन थालेको बताए ।

नियामक निकायबाट हालसम्म (आ.व. ०६८/६९ देखि आ.व. ०७२/७३ सम्मको) स्वीकृत वित्तीय विवरणको वार्षिक साधारणसभा यथाशीघ्र गर्ने लक्ष्य लिइएको जानकारी दिँदै उनले पछिल्ला आर्थिक वर्षहरूका वित्तीय विवरण पनि यसै आर्थिक वर्षभित्र तयार गरी वार्षिक साधारणसभा गर्ने लक्ष्य लिइएको बताए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रराज ओझाले सरकारले लिएको बिमासम्बन्धी नीति तथा कार्यक्रमको कार्यान्वयनमा प्रमुख सारथि तथा सहयोगीको भूमिका निर्वाह गर्दै आफ्ना कार्यक्रममार्फत सार्वजनिक सेवा प्रदान गर्नु र बिमाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गरी मुनाफा आर्जन गर्नु कम्पनीको दोहोरो दायित्व रहेको बताए । कम्पनीको लगानीका हिसाबले ऋणपत्र, सेयर र डिबेन्चरमा बढी रहेको देखिएको जनाउँदै उनले हालसम्म नेपाल सरकार, बिमा समिति तथा नेपाल राष्ट्र बैंकद्वारा निर्दिष्ट गरिएका क्षेत्रहरूमा विद्यमान ऐन, नियम नीति तथा निर्देशिकाको परिधिभित्र रही विभिन्न बैंक, वित्तीय संस्था, नेपाल सरकारको ऋणपत्र, सेयर र डिबेन्चरमा अल्पकालीन तथा दीर्घकालीन लगानी गरी कम्पनीले उच्चतम प्रतिफल प्राप्त गर्दै आएको बताए ।

प्रमुख कार्यकारी अधिकृत ओझाले दीर्घकालीन लगानीको रुपमा मुख्यतः कम्पनीको सेयर नबिल बैंकमा एक करोड ७४ लाख १५ हजार १७९ कित्ता, नेपाल इन्भेस्टमेन्ट बैंकमा एक करोड ७३ लाख १६ हजार ७४४ कित्ता र नेपाल पुनर्बिमा कम्पनीमा २७ लाख ६९ हजार ५४९ कित्ता सेयर रहेको बताए ।

नेपाल आयल निगम, नेपाल बैंक लिमिटेड, ग्लोबल आइएमई, प्रभु बैंक, सिभिल बैंक, नेपाल ल्युब आयलमा पनि कम्पनीको लगानी छ । साथै, कम्पनीको २०७९ असार मसान्तसम्ममा नेपालमा रहेका केही ‘क’ वर्गका वाणिज्य बैंक र ‘ख’ वर्गका विकास बैंकलगायतको मुद्दती निक्षेपमा करिब पाँच सय करोड रुपैयाँ लगानी रहेको उनले जानकारी दिए ।

कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत कोइरालाले कम्पनीले राष्ट्रिय गौरवका परियोजनाहरूको पनि बिमा गरेको बताए । हालसालै नेपाली सेनाबाट सञ्चालनमा रहेको राष्ट्रिय गौरवको काठमाडौं तराई-मधेस फास्ट ट्रयाक द्रुत मार्ग आयोजना, अपर तामाकोसी, अरुण तेस्रो, नेपाल एयरलाइन्स, भेरी-बबई आयोजना, नेपाल राष्ट्र बैंकको नगद कोष, नेपाल आयल निगम, निजामती कर्मचारीहरूको दुर्घटना बिमा, राष्ट्रिय जनगणनाको अवधिमा परिचालन गरिएका गणकहरूको पनि दुर्घटना बिमा गरेको उनले बताए । यस्तै निर्वाचनका बेलामा खटिने सम्पूर्ण कर्मचारी र सुरक्षाकर्मीको पनि हामीले नै दुर्घटना बिमा गरेको पनि उनले बताए ।

सरकारी स्वामित्वमा राष्ट्रिय बिमा संस्थानको ५५ वर्षअगाडि स्थापना भएर जीवन र निर्जीवन बिमाको कारोबार गर्दै आएकामा २०७१ साउन १८ गतेदेखि निर्जीवन बिमा व्यवसाय छुट्टै सञ्चालन गर्दै आएको छ । निर्जीवन बिमाका सन्दर्भमा सार्वजनिक संस्थानका रूपमा रहेर देशका २० निर्जीवन बिमा कम्पनीमध्ये चौथो स्थानमा रहेको कम्पनीले यो आर्थिक वर्ष निर्जीवन बिमामा प्रिमियम संकलनका हिसाबले झन्डै १५० प्रतिशतले बढोत्तरी गरेर अगाडि बढेको छ । विगतमा ५५ वर्षअगाडि जुन रूपले नेपालमा बिमाको अग्रणी कम्पनीका रूपमा सुरु गरेको थियो अब पनि प्रिमियम संकलनका हिसाबले पनि अग्रणी हुने दिशामा कम्पनी अगाडि बढेको छ ।

कम्पनीमा अहिले नेपाल सरकारको ४७.५ प्रतिशत, कर्मचारी सञ्चय कोषको २२ प्रतिशत, नेपाल बैंक लिमिटेडको १०.९६ प्रतिशत र सर्वसाधारण सेयरतर्फ १९.५४ प्रतिशत रहेको भने आर्थिक वर्ष ०७८/७९ मा २६४.७१ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । सो अवसरमा कम्पनीमा उत्कृष्ट व्यापार गर्ने अभिकर्ता हरिशरण शिवाकोटी, कान्ता शाह, सदीक्षा न्यौपाने, उत्तरबहादुर ऐर, नारायण गिरी, केशवदत्त जोशीलगायतलाई सम्मान गरिएको थियो । साथै उत्कृष्ट शाखा जनकपुर, भक्तपुर र पाल्पालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया